कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानीः लाखौँ मूल्यका अवैध सामग्री र प्रतिबन्धित कुखुरा बरामद

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रअन्तर्गत बेलौरी र पुनर्वास नगरपालिकाका विभिन्न नाकाबाट भारतबाट अवैध रुपमा भित्र्याइएका लाखौँ मूल्य बराबरका मालसामान, सवारीसाधन र प्रतिबन्धित ब्रोइलर कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीको नेतृत्वमा खटिएका विभिन्न सीमा आउट पोस्ट (बिओपी) का गस्ती टोलीले वैशाख २५ र २६ गते  उक्त परिमाणको अवैध सामग्री नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख प्रहरी नायब उपरीक्षक योग्य बस्नेतका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी नियन्त्रणका लागि गस्तीलाई तीव्रता दिइएको छ। सोही क्रममा पुनर्वास नगरपालिका वडा नम्बर ६ ङ गाउँस्थित बिओपी पुनर्वासको टोलीले एक लाख एकचालिस हजार सात सय रुपैयाँ बराबरको एउटा मोटरसाइकल, चार थान साइकल र दुई सय सत्र दर्जन केरा बरामद गरी कैलाली भन्सार कार्यालय धनगढीमा दाखिला गरेको छ। त्यसैगरी पुनर्वासकै वडा नम्बर ९ काठेपुल इलाकाबाट तेइस हजार पाँच सय सत्तरी रुपैयाँ बराबरको कस्मेटिक सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार बुझाइएको छ।

सीमा क्षेत्रमा प्रतिबन्धित भारतीय कुखुराको ओसारपसारलाई पनि सशस्त्र प्रहरीले कडाइका साथ रोकेको छ। वैशाख २५ गते बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवा र पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँबाट करिब उनन्चालीस हजार एक सय रुपैयाँ मूल्यका ब्रोइलर कुखुरा र पेय पदार्थ बरामद गरी सुरक्षित स्थानमा खाल्डो खनेर नष्ट गरिएको छ। यसैगरी वैशाख २६ गते बेलौरी नगरपालिका वडा नम्बर १ फटिया इलाकाबाट नम्बर नखुलेको हिरो कम्पनीको मोटरसाइकलसहित एकाइस हजार मूल्यको सत्तरी किलो कुखुरा नियन्त्रणमा लिइएको थियो। सोही दिन बिओपी थापाचोकले थप पच्चिस किलो कुखुरा नष्ट गर्दै पन्ध्र हजार रुपैयाँ बराबरको तोरी भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीले बरामद गरेका प्रतिबन्धित कुखुरा तथा बेवारिसे अवस्थाका सामग्रीहरु बिओपीको पेरिमिटरभित्र सुरक्षित स्थानमा नष्ट गर्ने गरेको छ भने अन्य मालसामान र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाउने गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ