आँपताल बिओपीद्वारा पुनर्वास सीमा क्षेत्रबाट अवैध सामान र स्कुटी बरामद

पुनर्वास (कञ्चनपुर), २५ असार ।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालको आँपताल बिओपीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको लेडिज कपडा तथा हार्डवेयरका सामानसहित एउटा स्कुटी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. आँपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको कमाण्डमा खटिएको पाँच जनाको पैदल सीमा गस्ती टोलीले पुनर्वास नगरपालिका वडा नं. ४ स्थित घ गाउँ सीमा इलाकामा सो सामग्री बरामद गरेको हो। नम्बर प्लेट नखुलेको स्कुटीको प्रयोग गरी भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामानहरू फेला परेका थिए। सुरक्षा टोलीलाई देखेपछि अवैध सामान ओसारपसारमा संलग्न व्यक्तिहरू फरार भएका कारण कसैलाई पनि नियन्त्रणमा लिन नसकिएको सुरक्षा स्रोतले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको स्कुटी, लेडिज कपडा र हार्डवेयरजन्य सामानहरूको कुल भन्सार मूल्यांकन १ लाख ५१ हजार २०० रुपैयाँ कायम गरिएको छ। खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध चोरीपैठारीले राज्यको राजस्व संकलनमा ठूलो असर पुर्‍याउनुका साथै स्थानीय बजारलाई समेत प्रभावित पार्ने गरेको छ।

बरामद गरिएका सम्पूर्ण सामान र स्कुटीलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ