बेलौरी, कञ्चनपुर
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ अर्थात् बसन्त पञ्चमी पर्व आज कञ्चनपुरसहित देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। ऋतुहरूको राजा मानिने बसन्त ऋतुको आजैबाट सुरुवात हुने भएकाले यस पर्वलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ।
विशेषगरी विद्यालय तथा क्याम्पसहरूमा विद्यार्थीहरूले अक्षर र ज्ञानकी देवी सरस्वतीको प्रतिमामा पुष्पगुच्छा अर्पण गर्दै कापी, कलम र पुस्तकको पूजा गरिरहेका छन्। बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस लगायत यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूले हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन्।
धार्मिक विश्वास अनुसार, आजको दिन ब्रह्माको मुखबाट देवी सरस्वतीको उत्पत्ति भएको मानिन्छ। संगीत, कला, साहित्य र विद्याकी खानी मानिने सरस्वतीको पूजा गर्नाले अज्ञानताको अन्धकार हटेर ज्ञानको ज्योति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन साना बालबालिकालाई अक्षरारम्भ (पहिलो पटक अक्षर लेख्न सिकाउने कार्य) गराउनु अत्यन्त शुभ मानिन्छ।





