कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लामो समयदेखि चर्चा र चासोको विषय बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनगढी उपमहानगरपालिका–७ स्थित पटेला जंगलमा निर्माणाधीन यस आधुनिक केन्द्रको काम आगामी डेढ महिनाभित्र सम्पन्न भई सञ्चालनमा आउने भएको छ ।
बढ्दो सहरीकरणसँगै धनगढीमा फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीका रूपमा देखिएको थियो । यस समस्याको दीर्घकालीन समाधानका लागि एक अर्ब आठ करोड २७ लाखभन्दा बढीको लागतमा निर्माण भइरहेको यो परियोजनाले सुदूरपश्चिमको सहरी विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ । संघीय सहरी विकास तथा भवन कार्यालय कैलालीका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत र वित्तीय प्रगति ८१ प्रतिशत सम्पन्न भइसकेको छ ।
कार्यालयका अनुसार मुख्य संरचनाको निर्माण कार्य सकिइसकेको छ भने अब लाइटिङ, सडक कालोपत्रे र जमिनमा प्लास्टिक बिछ्याउने जस्ता ‘फिनिसिङ’ का कामहरू मात्र बाँकी रहेका छन् । आगामी फागुन मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सकेर केन्द्रलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । चिनियाँ निर्माण कम्पनी ‘सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेड’ ले यस अत्याधुनिक केन्द्रको निर्माण गरिरहेको छ । सम्झौता अनुसार निर्माण सम्पन्न भएको पहिलो तीन वर्षसम्म निर्माण कम्पनीले नै केन्द्रको सञ्चालन र व्यवस्थापन गर्नेछ, जसले प्राविधिक गुणस्तर र सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । त्यसपश्चात् भने यसको सम्पूर्ण स्वामित्व र सञ्चालनको जिम्मा धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको यस केन्द्रले आगामी ३० वर्षसम्म धनगढीको फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ । धनगढी उपमहानगरपालिकाका अनुसार केन्द्रमा फोहोरको वैज्ञानिक वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट जैविक मल उत्पादन गरिनेछ भने प्लास्टिकजन्य र पुनः प्रयोग गर्न सकिने फोहोरलाई छुट्याइनेछ । पुनः प्रयोग गर्न नमिल्ने फोहोरलाई मात्र सुरक्षित तवरले डम्पिङ साइटमा विसर्जन गरिने व्यवस्था मिलाइएको छ ।
यद्यपि, निर्माण स्थलको टुंगो लगाउन र रुख कटानको आदेश पाउनमा भएको ढिलाइका कारण आयोजना दुई वर्ष पछाडि धकेलिएको थियो । यस विलम्बले गर्दा आयोजनाको लागतमा करिब ११ करोड ४४ लाख रुपैयाँले वृद्धि हुन पुगेको प्राविधिकहरूले बताएका छन् । निर्माण कम्पनीले निर्धारित समय (अप्रिल ३) भन्दा अगावै काम सकेर केन्द्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।
सुदूरपश्चिममा फोहोर व्यवस्थापनका लागि यो मोडल प्रभावकारी बन्दै गएको देखिन्छ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा यसअघि नै यस्तै प्रकृतिको केन्द्र सञ्चालनमा आइसकेको छ भने कञ्चनपुरको शुक्लाफाँटामा पनि निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ । धनगढीको यो परियोजना सम्पन्न भएसँगै प्रदेशका मुख्य सहरहरूमा फोहोर व्यवस्थापनको समस्या दिगो रूपमा समाधान हुने र वातावरण संरक्षणमा समेत उल्लेख्य सुधार आउने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् ।





