बेलौरी, कञ्चनपुर
देश र जनताको अधिकारका लागि आफ्नो प्राणको आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा आज देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदैछ । जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि मार्गप्रशस्त गर्ने अमर सहिदहरूको स्मरणमा हरेक वर्ष माघ १६ गते यो दिवस मनाउने गरिएको हो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि वि.सं. १९९७ मा तत्कालीन राणा शासकद्वारा मृत्युदण्ड दिइएका चार वीर सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानलाई विशेष रूपमा स्मरण गरिन्छ । शास्त्रीलाई माघ १० गते टेकुमा, माथेमालाई माघ १३ गते सिफलमा र चन्द तथा श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । तिनै वीरहरूको बलिदानको जगमा नेपालमा निरङ्कुश शासनको अन्त्य भई नागरिक अधिकार स्थापित भएको ऐतिहासिक तथ्य रहेको छ ।
सहिद सप्ताह अन्तर्गत माघ १० गतेदेखि नै विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेकोमा आज अन्तिम दिन प्रभातफेरी, श्रद्धाञ्जली सभा र सहिदका सपना साकार पार्ने प्रतिबद्धताका साथ औपचारिक कार्यक्रमहरू आयोजना गरिएका छन् । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा पनि सहिदहरूको तस्बिरमा माल्यार्पण गर्दै उहाँहरूको वीरताको चर्चा गरिएको छ ।
विसं २०१२ देखि नै काठमाडौँ नगरपालिकाको नेतृत्वमा औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले वर्तमान राजनीतिक परिवर्तनमा सहिदहरूको त्यागको महत्त्वलाई उजागर गर्दै आएको छ । सहिदको बलिदानले प्राप्त गरेको लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धि र सुशासनको बाटोमा लैजानु नै उनीहरू प्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास गरिएको छ।





