सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि ५ हजार १ सय सशस्त्र प्रहरी परिचालन, १६ वटै क्षेत्रमा विशेष सुरक्षा बेस

धनगढी, माघ २० । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरी बलले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउँदै सशस्त्र प्रहरीले आफ्नो परिचालनलाई तीव्रता दिएको हो।

सशस्त्र प्रहरी बल नेपाल, सुदूरपश्चिमका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर करिब ५ हजार १ सय जनशक्ति परिचालन गरिने भएको छ। जसमा म्यादी प्रहरी (निर्वाचन प्रहरी) लाई समेत समावेश गरिएको छ।

सशस्त्र प्रहरीले माघ २१ गतेदेखि नै १६ वटै निर्वाचन क्षेत्रमा ‘निर्वाचन क्षेत्र सुरक्षा बेस’ स्थापना गर्ने भएको छ। हरेक बेसको कमान्ड सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) ले गर्ने गरी एक सेनामुख फौज तैनाथ गरिने सशस्त्र प्रहरीले जनाएको छ।

निर्वाचनको १५ दिन अगाडि (फागुन ६ गते) देखि सबै क्षेत्रमा स्ट्राइकिङ र मोबाइल टोलीहरू परिचालन हुनेछन्। स्ट्राइकिङ टोलीको नेतृत्व इन्स्पेक्टरले तथा मोबाइल टोलीको नेतृत्व नायव निरीक्षक (सई) वा सहायक निरीक्षक (असई) ले गर्नेछन्। साथै, बाहिनी मुख्यालयमा प्रदेश स्तरीय रिजर्भ टोली र हरेक युनिटमा क्विक रेस्पोन्स टिम (QRT) तयारी अवस्थामा राखिने भएको छ।

पहाडी तथा विकट जिल्लाहरूमा हुन सक्ने निर्वाचन विरोधी गतिविधि निस्तेज पार्न वरिष्ठ अधिकृतहरूको कमान्डमा निर्वाचनको ७ दिन अघिदेखि नै विशेष अनुगमन टोली खटाइने भएको छ। सञ्चार सम्पर्कलाई प्रभावकारी बनाउन विकट इलाकाहरूमा थप रिपिटर टावरहरू जडान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

निर्वाचनमा सवारी साधनको अभाव हुन नदिन सशस्त्र प्रहरीले अपुग सवारी साधनहरू भाडामा लिएर व्यवस्थापन गर्ने तयारी गरेको छ। अन्य सुरक्षा निकायहरू नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वयमा सुरक्षा रणनीति बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ