काठमाडौ। निर्वाचन आयोगले मुलुकमा निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण निर्माण भइसकेको जनाउँदै अब मतदाताहरू ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन सक्ने अवस्था बनेको स्पष्ट पारेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सुरक्षा व्यवस्थाको प्रभावकारी कार्यान्वयन र राजनीतिक सहमति बढ्दै गएकाले निर्वाचन बिथोल्न खोज्ने प्रयासहरू सफल नहुने विश्वास दिलाउनुभएको हो।
आयोगका अनुसार सुरुवाती दिनहरूमा शान्ति सुरक्षालाई लिएर कतिपय क्षेत्रबाट व्यक्त गरिएका चिन्ताहरू अहिले समाधान भइसकेका छन्। गृह मन्त्रालय र सुरक्षा निकायहरूसँगको निरन्तर समन्वयका कारण सुरक्षा संयन्त्रलाई मजबुत बनाइएकाले मतदान प्रक्रियालाई अवरोध पुर्याउन सक्ने कुनै पनि पक्षको प्रयासलाई सुरक्षा निकायले नियन्त्रणमा राख्न सक्ने आयोगको दाबी छ।
यस पटकको निर्वाचनलाई उत्साहजनक र मर्यादित बनाउन आयोगले आफ्ना सबै तयारीहरू अन्तिम चरणमा पुर्याएको छ। विशेषगरी सुदूरपश्चिमका सीमावर्ती जिल्लाहरूमा समेत सुरक्षाको विशेष प्रबन्ध मिलाइएको र मतदाताले भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता गरिएको छ।
आयोगले सबै राजनीतिक दल, नागरिक समाज र स्थानीय समुदायलाई लोकतन्त्रको यो महान उत्सवलाई सफल बनाउन सहयोग गर्न अपिल समेत गरेको छ। निर्वाचन विरोधी स-साना गतिविधिले समग्र प्रक्रियामा कुनै असर नपार्ने भएकाले आम नागरिकलाई निर्धक्क भई निर्वाचनको तयारीमा जुट्न आयोगले आग्रह गरेको छ।
मुलुकको लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउन यो निर्वाचन कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा देखिएको यो सकारात्मक वातावरणले आम मतदातामा थप उत्साह र विश्वास जगाएको छ।





