झापाको भद्रपुरमा ‘सिरिन्ज आक्रमण’ बाट एक जनाको मृत्यु

तस्विरः एआई बाट निर्मित

भद्रपुर, झापा

झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा ‘सिरिन्ज आक्रमण’ बाट एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय खेम ढकालको उपचारका क्रममा मृत्यु भएको हो। बिहीबार साँझ घर नजिकै रहेका ढकालको गर्धनमा सिरिन्ज प्रहार गरिएको थियो।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको विष्णुपुर–१ घर भएका २६ वर्षीय दीपेन्द्रकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। सिंह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत विद्यार्थी हुन्। उनी केही दिनदेखि चन्द्रगढी विमानस्थल नजिकैको एक होटलमा बसेर ढकालको घर रेकी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतक ढकालको छोरी पनि धरानमै चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनरत रहेको र सोही विषयलाई लिएर घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। सिंहले ढकालको घर पत्ता लगाएपछि पछ्याउँदै गएर गर्धनमा सिरिन्ज प्रहार गरेको स्थानीयले बताएका छन्। सिरिन्जमा कुन रसायन वा पदार्थ प्रयोग गरिएको थियो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको प्रकृति अत्यन्तै गम्भीर रहेकाले थप प्रमाण संकलन भइरहेको जानकारी दिनुभयो। प्रहरीले पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणको नतिजा आएपछि मात्र मृत्युको वास्तविक कारण र प्रयोग गरिएको पदार्थबारे आधिकारिक जानकारी दिने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ