बेलौरी, कञ्चनपुर।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि निर्वाचन आयोगले तोकेको आचारसंहिताको अक्षरसः पालना गर्न कञ्चनपुर क्षेत्र नम्बर १ का सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। शुक्रबार बेलौरीमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनले आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने भन्दै कडा चेतावनी समेत दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र जोशीले निर्वाचनको मर्यादा कायम राख्न उम्मेदवारहरूको भूमिका मुख्य हुने उल्लेख गर्नुभयो। उहाँले निर्वाचन आचारसंहिता केवल कागजी दस्तावेज मात्र नभई यो लोकतान्त्रिक अभ्यासको कसी भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार प्रचारप्रसारका क्रममा गरिने भड्किलो प्रदर्शन र आचारसंहिता विपरितका गतिविधिले उम्मेदवारी समेत संकटमा पर्न सक्ने भएकाले समयमै सचेत रहन सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरिएको छ।

आर्थिक अनुशासनको पाटोलाई जोड दिँदै कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख एवं निर्वाचन अनुगमन समिति सदस्य कृष्णबहादुर धामीले निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले निर्वाचनका क्रममा हुने अस्वभाविक खर्चले लोकतन्त्रलाई कमजोर बनाउने बताउँदै प्रत्येक उम्मेदवारले आफ्ना खर्चका विवरणहरू बैंक खाता मार्फत व्यवस्थित गर्नुपर्ने र तोकिएको सीमाभित्रै रहेर चुनावी गतिविधि सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउनुभयो।

यस्तै, प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचन सुरक्षा योजनाका बारेमा जानकारी दिँदै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको दाबी गर्नुभयो। उहाँले मतदातालाई प्रभाव पार्ने कुनै पनि किसिमका प्रलोभन वा धम्कीपूर्ण कार्यलाई निस्तेज पार्न सुरक्षा निकाय उच्च सतर्कताका साथ मैदानमा उत्रिएको बताउनुभयो। कुनै पनि उम्मेदवार वा दलले निर्वाचनलाई प्रभावित पार्न खोजेमा तत्कालै कडा कदम चालिने उहाँको भनाइ थियो।

अन्तरक्रियामा सहभागी बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी लगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको सामूहिक अठोट व्यक्त गरेका छन्। निर्वाचन अधिकृत दामोदर घिमिरेले समापन गर्नुभएको उक्त कार्यक्रमले क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढिरहेका बेला नैतिक आचरण र कानुनी दायराको पालना गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






