
कञ्चनपुर।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ६ ढक्का चान्देवस्थित मानव बस्तीमा पसेको जंगली हात्तीले घरमा आक्रमण गर्दा यो दुःखद घटना भएको हो ।
बिहान करिब २:३० बजेको समयमा स्थानीय किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन भाग्ने क्रममा किसन सिंहकी ५५ वर्षीया आमा पार्वती साउद र ६ वर्षीया छोरी रोजिना साउद हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका थिए । घटना लगत्तै स्थानीय बासिन्दाले ३:३० बजे प्रहरीलाई खबर गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि झलारीस्थित टिएण्डसी अस्पताल पठाएको थियो । त्यहाँ सामान्य उपचारपछि घाइतेहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा आज बिहान ६:१५ बजे ६ वर्षीया बालिका रोजिना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
घाइते पार्वती साउदको हाल उपचार भइरहेको छ । लालझाडी क्षेत्रमा बारम्बार जंगली हात्तीको आतंकका कारण स्थानीय बासिन्दा त्रसित बन्दै आएका छन् । यस घटनाले स्थानीय स्तरमा गहिरो शोक र त्रास सिर्जना गरेको छ भने वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जानु जरुरी देखिएको छ ।






