कञ्चनपुर, ५ चैत
कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा धारिलो हतियार प्रहार गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले नेपाल-भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय हरिप्रसाद श्रेष्ठलाई बुधबार राति दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ स्थित सुन्दरनगर टोलबाट प्रहरीले पक्राउ गरेको हो।
गत चैत ४ गते राति करिब ९ बजेको समयमा सीमा नाका हुँदै भारततर्फ लुकिछिपी भाग्न खोजिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई फेला पारेको थियो। प्रहरीका अनुसार श्रेष्ठले केही समय अघि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई फरार रहँदै आएका थिए। उनलाई नियन्त्रणमा लिएलगत्तै आवश्यक कानुनी प्रक्रिया पुरा गरी राति ९:३५ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।





