बेलौरी, कञ्चनपुर
कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१ बाराकुण्डा धरमपुर बस्ने अन्दाजी ४० वर्षीय राम लुहार र सोही वडाको शान्तिटोल बस्ने अन्दाजी ४२ वर्षीय दान सिंह धामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो करिब १ बजे से १ च १४०५ नम्बरको सामान बोक्ने बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको म २ प ३५०६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएकोमा चिकित्सकले दिउँसो १:४० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुडा र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा सोको (SOCO) सहितको विशेष टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बोलेरो जिप र त्यसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार निवासी २२ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ। मृतकहरूको सनाखत आफन्तका माध्यमबाट भइसकेको र हाल दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनापश्चात् केही समय प्रभावित भएको राजमार्ग अहिले पूर्ण रूपमा सुचारु रहेको छ। प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।





