चैत ०३, कंचनपुर। नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत मंगलबार सुरक्षा निकायले महत्वपूर्ण सफलता हासिल गरेको छ। भारतको खीरी जिल्लास्थित संपूर्णनगर क्षेत्रमा सशस्त्र सीमा बल (SSB) र स्थानीय प्रहरीको संयुक्त टोलीले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। प्राप्त जानकारीअनुसार, सीमा स्तम्भ संख्या ७६९/१६ नजिक भारतीय क्षेत्रमा एसएसबीको ४९औं वाहिनीको बी कम्पनी बसही र संपूर्णनगर प्रहरीले संयुक्त रूपमा कडा चेकजाँच अभियान सञ्चालन गरिरहेका थिए।
सोही क्रममा नेपालतर्फबाट पल्सर मोटरसाइकलमा आएका तीन जना संदिग्ध युवकलाई रोकी जाँच गर्दा उनीहरूको साथबाट ८.५० ग्राम ब्राउन सुगर बरामद गरिएको थियो। यस अभियानमा एसएसबीको एनडीपीएस तालिमप्राप्त कुकुर “लॉरिश” ले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।
पक्राउ पर्नेहरू नेपालको कैलाली जिल्ला, गोदावरी गाउँपालिकाका बासिन्दा प्रदीप चौकाल, विनोद पुन मगर र विमल चन्द रहेका छन्। कारबाहीको नेतृत्व एसएसबीतर्फबाट निरीक्षक सामान्य रामकुमार यादवले गरेका थिए भने प्रहरीतर्फबाट उपनिरीक्षक अनिल सिंह पंकज र किरण पाल सिंहको सहभागिता रहेको थियो।
साथै, मुख्य आरक्षी अखिलेश कुमार तिवारी, सुरेन्द्र कुमार मिश्र, टिंकु प्रजापति लगायतका सुरक्षाकर्मीहरू पनि उक्त टोलीमा संलग्न थिए। बरामद लागुऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कागजी प्रक्रिया पूरा गरी पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि संपूर्णनगर प्रहरीको जिम्मा लगाइएको छ। सुरक्षा निकायको यस सक्रियताले सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न समूहहरूबीच त्रास फैलिएको छ।





