बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ओम प्रसाद उपाध्यायले सम्हाल्नुभएको छ। नगरपालिकामा सातौँ तहको लेखा अधिकृत (आर्थिक प्रशासन प्रमुख) को रूपमा कार्यरत उपाध्यायलाई मन्त्रालयको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि यो जिम्मेवारी दिइएको हो।
विगत ६ वर्षदेखि बेलौरी नगरपालिकामा लेखा प्रमुखको रूपमा कार्य गर्दै आउनुभएका उपाध्याय नगरपालिकाको प्रशासनिक र आर्थिक प्रक्रियाबारे अनुभवी मानिनुहुन्छ। लामो समयदेखि नगरपालिकाको आर्थिक प्रशासन सम्हाल्दै आएकाले उहाँको नियुक्तिसँगै नगरपालिकाको रोकिएका प्रशासनिक कार्यहरू र विकास निर्माणका योजनाहरूले गति लिने विश्वास गरिएको छ।
यसअघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रमेश बहादुर बुढाथोकी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी पदबाट स्वतः निलम्बनमा परेका थिए। सोही कारण प्रशासनिक नेतृत्व रिक्त हुन पुगेपछि नगरपालिकाको दैनिक कार्यसम्पादन र आर्थिक प्रशासनलाई निरन्तरता दिन उपाध्यायलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले नगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई चुस्त बनाउने र अधुरा योजनाहरूलाई समयमै सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।





