काठमाण्डौ।
नवनियुक्त भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्सालले इन्जिनियर र ठेकेदारबीचको अपवित्र साँठगाँठका कारण पूर्वाधार विकासमा गम्भीर समस्या देखिएको र यसले भ्रष्टाचारलाई प्रश्रय दिएको बताउनुभएको छ। मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री लम्सालले आयोजनाहरूको म्याद थप गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने र काममा ढिलासुस्ती गर्नेहरूलाई कडा निगरानीमा राखिने स्पष्ट पार्नुभयो।
ब्रिफिङ कार्यक्रमका क्रममा मन्त्री लम्सालले आफ्नो मोबाइलबाट एक ठेकेदारले बोलेको भिडियो प्रस्तुत गर्दै प्राविधिक कर्मचारी र निर्माण व्यवसायीबीचको आर्थिक चलखेलले विकास निर्माणका कार्य प्रभावित भएको जिकिर गर्नुभयो। उहाँले म्याद थप गरिएका सबै योजनाहरूलाई रूग्ण आयोजनाको रूपमा लिइने बताउँदै समयमा सम्पन्न नभएका ठेक्काहरूको गम्भीर अध्ययन गरी बाधा फुकाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो। सरकारी तथ्यांकअनुसार हाल भौतिक पूर्वाधारतर्फ मात्रै २४० भन्दा बढी ठेक्काहरू रूग्ण अवस्थामा रहेका छन्।
यातायात व्यवस्थातर्फ चर्चा गर्दै मन्त्री लम्सालले हाल २७ लाखको हाराहारीमा रहेको लाइसेन्स छपाइको बक्यौता अन्त्य गर्न सुरक्षण मुद्रण केन्द्रले सातै प्रदेशबाट सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सेवाग्राहीको सहजताका लागि तत्कालका लागि चिप बिनाको कार्ड भए पनि उपलब्ध गराएर समस्या समाधान गर्न निर्देशन दिनुभयो। मन्त्री लम्सालले पानीजहाज कार्यालय र रेल विभागको औचित्यमाथि समेत प्रश्न उठाउँदै पूर्व–पश्चिम रेलमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
विगतका वर्षहरूमा मन्त्रीको स्वागतमा हुने भड्किलो तामझामलाई हटाउँदै सादगीपूर्ण रूपमा पदभार सम्हाल्नुभएका लम्सालले ब्रिफिङ नसकिँदासम्म सञ्चारकर्मीहरूलाई समेत प्रवेश निषेध गर्नुभएको थियो। सबैभन्दा बढी बजेट विनियोजन हुने तर न्यून भौतिक र वित्तीय प्रगति हुने यस मन्त्रालयको कार्यशैलीमा आमूल परिवर्तन ल्याउनु नै आफ्नो मुख्य चुनौती रहेको उहाँको सङ्केत थियो।





