कन्चनपुर, चैत २५।

जिल्ला कारागार कञ्चनपुरमा आज दिउँसो कैदीबन्दीबीच झडप भएको छ । भीमदत्त नगरपालिका १८ भगतपुरस्थित कारागारमा रहेका कैदीबन्दीहरूबीच एकापसमा विवाद हुँदा भएको उक्त झडपमा परी पाँच जना घाइते भएका छन् । कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केही समूहबीच आज मध्याह्न बाह्र बजेको समयमा होहल्ला र गालीगलौज भएपछि स्थिति नियन्त्रण बाहिर गएको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको छ।

घटनामा परी शुक्लाफाँटा नगरपालिका ७ का २३ वर्षीय ओम प्रकाश घरेडी, वडा नं. ११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरू तीनै जनाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ । यसैगरी भीमदत्त नगरपालिका ७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका ८ का २६ वर्षीय राजु दमाई पनि झडपमा घाइते भएका छन् । उनीहरूको टाउकोमा सामान्य चोट लागेको छ ।
झडप लगत्तै घाइतेहरूलाई करिब सवा बाह्र बजे उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको थियो । कारागारभित्र तनाव उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १९ जनाको थप प्रहरी टोली खटिएर स्थितिलाई नियन्त्रणमा लिएको छ । घाइतेहरूमध्ये कोही चोरी, कोही लागुऔषध र कोही जबर्जस्ती करणी मुद्दाका कैदीहरू रहेको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको छ।





