कञ्चनपुरको बेलौरीमा बृहत् हिन्दू सम्मेलन सम्पन्न

कञ्चनपुर, १४ चैत्र।  कञ्चनपुरको बेलौरीमा विश्व हिन्दू परिषद् नेपाल, नगर कार्यसमिति बेलौरीको आयोजनामा भव्य ‘हिन्दू सम्मेलन’ सम्पन्न भएको छ। बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त विशेष कार्यक्रममा हिन्दू धर्म, संस्कृति र सनातन परम्पराको जगेर्नाका लागि सम्पूर्ण ‘ओमकार परिवार’लाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिइएको छ। विश्व हिन्दू परिषद्का राष्ट्रिय संगठन सचिव प्रह्लाद कुमार रेग्मीको प्रमुख आतिथ्यता तथा बेलौरी नगर अध्यक्ष राजु चौधरीको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनले समाजमा व्याप्त जातीय विभेदलाई चिर्दै धर्म र राष्ट्र रक्षाका लागि साझा मोर्चा निर्माण गर्ने संकल्प पारित गरेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रह्लाद कुमार रेग्मीले वर्तमान समयमा सनातन धर्ममाथि भइरहेका प्रहारहरूलाई रोक्न संगठनको सुदृढीकरण अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष इन्जिनियर महेन्द्र राज पन्त र पश्चिम संवाहक संगठन सचिव माननीय धनुष धारी पाण्डेयले प्रदेश र स्थानीय तहसम्म हिन्दू संस्कारलाई पुनर्जागरण गर्नुपर्ने धारणा राख्नुभयो। सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्दै परिषद्का कञ्चनपुर जिल्ला उपाध्यक्ष धन बहादुर कुँवरले जाति, समुदाय र वर्गमा विभाजित भएको हिन्दू समाजलाई संगठित गरी देश, धर्म र परम्पराको रक्षा गर्नु नै कार्यक्रमको मूल लक्ष्य रहेको स्पष्ट पार्नुभयो। उहाँले हिन्दू, बौद्ध र जैन लगायतका सम्पूर्ण ओमकार परिवार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एकजुट भएमा मात्रै राष्ट्रिय स्वाभिमान सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय सरोकारवालाहरूको पनि सक्रिय सहभागिता रहेको थियो, जसमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्ट, नगरस्तरीय हिन्दू सम्मेलन संयोजक प्रकाशराज पन्त, बेलौरी रामलिला समितिका संयोजक दिनेश बहादुर कुँवर र विश्व हिन्दू महासङ्घका नगर अध्यक्ष भवराज उपाध्यायले ऐक्यबद्धता जनाउनुभएको थियो। विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुर बेलौरीका नगर सचिव गोरखबहादुर बिष्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सन्त, महात्मा, किसान, शिक्षक र स्थानीय बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। सम्मेलनले आगामी दिनमा स्थानीयस्तरमा धर्म संस्कृतिको संरक्षण र समाज सुधारका विभिन्न अभियानहरू सञ्चालन गर्ने तयारी समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ