कञ्चन आवाज संवाददाता
बेलौरी, कञ्चनपुर।
नेपाल प्रहरीमा दर्ता गरिएका निवेदन, गुनासो तथा जाहेरीको पछिल्लो अवस्थाबारे जानकारी लिन अब सेवाग्राहीले प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। प्रहरी प्रधान कार्यालयले नागरिक सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले मातहतका निकायमा प्राप्त भएका उजुरीहरूको प्रगति विवरण सम्बन्धित व्यक्तिको मोबाइलमा फोन वा एसएमएसमार्फत उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले नागरिकका सेवालाई सरल बनाउन र उजुरीको प्रभावकारी कार्यान्वयनका लागि फोन वा एसएमएसबाटै जानकारी दिने पद्धति सुरु गरिएको बताउनुभयो। यस व्यवस्थाअनुसार मुद्दा दर्ता हुने प्रहरी एकाइहरूमा सेवाग्राहीले बुझाएका उजुरी, निवेदन, गुनासो वा जाहेरी दरखास्त दर्ता भएपश्चात् त्यसको अनुसन्धान कुन प्रक्रियामा छ र के-कस्तो प्रगति भइरहेको छ भन्ने विवरण प्रहरीले नै उपलब्ध गराउनेछ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी आधिकारिक सूचनामा उल्लेख भएअनुसार सेवाग्राहीले उजुरी दिँदा उपलब्ध गराएको सम्पर्क नम्बरमा नै सम्बन्धित प्रहरी एकाइले प्रगतिबारे जानकारी गराउनेछन्। यसअघि आफ्नो उजुरीको अवस्था बुझ्न पटक-पटक प्रहरी कार्यालय पुग्नुपर्ने र समय खर्चिनुपर्ने बाध्यता रहेकोमा अब भने घरमै बसीबसी आधिकारिक सूचना प्राप्त गर्न सकिने भएको छ। यो प्रक्रियाले सेवाग्राहीको समय र श्रमको बचत हुनुका साथै प्रहरीको कार्यसम्पादनमा समेत उत्तरदायित्व बढ्ने निष्कर्ष प्रहरी प्रशासनको रहेको छ।





