सर्वोच्चको परमादेशपछि पूर्वप्रधानमन्त्री ओली र नेता लेखक हाजिर जमानीमा रिहा हुँदै

काठमाडौं।

सर्वोच्च अदालतको परमादेश बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं कञ्चनपुरका प्रभावशाली व्यक्तित्व रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। काठमाडौँ जिल्ला अदालतबाट लिइएको म्याद समाप्त भएसँगै प्रहरीले दुवै नेतालाई अनुसन्धानका लागि आवश्यक परेको बखत उपस्थित हुने सर्तमा हिरासतमुक्त गर्ने निर्णय गरेको हो।

 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सरकारी वकिलको सहमतिमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम उनीहरूलाई रिहा गरिएको हो। गत भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले दुवै नेतालाई चैत १४ गते नियन्त्रणमा लिएको थियो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै चैत २३ गते चौथो पटक म्याद नथप्न र हिरासतबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो। अदालतले अनुसन्धान पूर्ण नभएको अवस्थामा नियन्त्रणमा राखिरहनु नपर्ने भन्दै चैत २५ गतेपछि हिरासतमुक्त गर्न निर्देश गरेको थियो। सोही आदेशको पालना गर्दै प्रहरीले कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई थुनामुक्त हुने निर्णय गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ