कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

कञ्चनपुर।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ कुमगडामा बिहीबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्। पहरिया–कुमगडा भित्री कच्ची सडक खण्डमा गुडिरहेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खस्दा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी कृष्णपुर नगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको छ। साँझ करिब ६:०५ बजेको समयमा भएको दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।

दुर्घटनामा परेर जिप चालक २४ वर्षीय अर्जुन साउदसहित ६ जना घाइते भएका छन्। टाउको र शरीरमा गम्भीर चोट लागेका साउदको अवस्था चिन्ताजनक रहेको छ। अन्य घाइते हुनेहरूमा कृष्णपुर–१ की ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, कृष्णपुर–२ की १४ वर्षीया रेश्मा घटाल र भीमदत्त नगरपालिकाकी ५० वर्षीया गंगा बिष्ट रहेका छन्।

घाइते सबैलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्स मार्फत थप उपचारका लागि कैलालीको धनगढी पठाइएको छ। घाइतेहरूको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ