रामघाट सामुदायिक वनको १९औं साधारण सभा सम्पन्न: डढेलो नियन्त्रण र वनको दिगो सदुपयोगमा जोड

बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ८ बरैया स्थित रामघाट सामुदायिक वन उपभोक्ता समूहको १९औं वार्षिक साधारण सभा वन संरक्षणको चुनौती, डढेलो नियन्त्रण र संस्थागत सुशासनमा केन्द्रित हुँदै भव्यताका साथ सम्पन्न भएको छ।

समूहका अध्यक्ष सोमलाल चौधरीको अध्यक्षतामा आयोजित उक्त सभामा बेलौरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यस्तै, विशिष्ट अतिथिहरूमा कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादव र पूर्व वन अधिकृत काली राम चौधरी रहनुभएको थियो।

‘एक सलाईको काँटीले वन सखाप पार्छ’ सभालाई सम्बोधन गर्दै अध्यक्ष सोमलाल चौधरीले वन संरक्षणमा उपभोक्ताको सक्रियताले हरियाली बढे पनि मानवीय लापरबाही चुनौतीको रूपमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले वर्षौंसम्म जोगाएको वन एउटा सानो सलाईको काँटी (आगो) ले क्षणभरमै खरानी बनाउन सक्छ। घाँस पलाउँछ भन्ने गलत सोचले वनमा डढेलो लगाउने प्रवृत्ति अन्त्य गर्न सबै उपभोक्ता सजग हुनुपर्छ।”। उहाँले वनलाई केवल काठ दाउराको स्रोतका रूपमा नहेरी यसलाई बाढी नियन्त्रण र पानीको मुहान संरक्षणको मुख्य आधार मान्नुपर्नेमा जोड दिनुभयो।

आर्थिक पारदर्शिता र भावी योजना साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को आय व्यय विवरण प्रस्तुत गरिएको थियो। लेखा परीक्षकको प्रतिवेदन अनुसार वन समूहले गत वर्ष करिब १३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ.  समूहले वन पैदावार बिक्री वितरण, नवीकरण र अन्य स्रोतबाट भएको आम्दानीलाई वन हेरालु व्यवस्थापन  लगायत विभिन्न कार्यमा खर्चिदै आएको जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष प्रकाश श्रेष्ठले वन समूहले वडाको विकास र वातावरण संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, कुण्डा सब डिभिजन प्रमुख दिनेश यादवले वन ऐनको परिधिमा रही दिगो वन व्यवस्थापनमा लाग्न उपभोक्ताहरूलाई सुझाव दिनुभयो।

उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको उक्त सभामा महिला, ज्येष्ठ नागरिक तथा सरोकारवालाहरूले वनको सिमाना सुरक्षा र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ