पुनर्वास, कञ्चनपुर, फागुन २४,
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा १५ वर्षको लामो अन्तरालपछि आयोजना हुन लागेको ‘पुनर्वास महोत्सव २०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ। पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा फागुन २५ गतेदेखि चैत्र ४ गतेसम्म चल्ने यस महोत्सवको तयारीका बारेमा आइतबार आयोजकले महोत्सव स्थलमै पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। पुनर्वासको आर्थिक विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवमा कृषि, व्यापार र होटल गरी कुल ११५ वटा स्टलहरू निर्माण गरिएका छन्, जसमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ।

महोत्सवलाई थप रोचक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। आयोजकका अनुसार पल शाह, समीक्षा अधिकारी, बद्री पंगेनी लगायतका चर्चित कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, स्थानीय थारु संस्कृति र परिकारको स्वाद लिन सकिने गरी ‘थारु गाउँ’ र होमस्टेको झल्को दिने संरचनाहरू पनि तयार पारिएका छन्। महोत्सव स्थललाई व्यवस्थित र सुरक्षित बनाउन मदिरा सेवन तथा विक्री वितरणमा पूर्ण निषेध गरिएको छ। जेष्ठ नागरिकहरूका लागि महोत्सव अवलोकनमा विशेष सहुलियत र व्यवस्थापन गरिएको आयोजकले जानकारी दिएका छन्।
महोत्सवको औपचारिक समुद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाबाट हुने कार्यक्रम तय गरिएको छ। भोलि बिहान १० बजेदेखि नै गेट खुल्ला रहने र साँझ ७:३० बजेसम्म विभिन्न कार्यक्रमहरू संचालन हुने आयोजकले बताएका छन्। पुनर्वास क्षेत्रको पर्यटन र व्यापारिक चहलपहल बढाउने विश्वास गरिएको यस महोत्सवमा सहभागी हुन आयोजकले सम्पूर्ण आम सर्वसाधारणमा हार्दिक अपील गरेको छ।





