कञ्चनपुर–१ मा प्रलोपाका उम्मेदवार शाही ५४ कार्यकर्तासहित नेकपामा प्रवेश

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका देपेन्द्र बहादुर शाही सो पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख अमर सिंह विष्टसहित ५४ जना नेता तथा कार्यकर्ताहरू बुधबार नेकपामा समाहित भएका हुन् । रोचक पक्ष के छ भने उम्मेदवार शाहीले गत फागुन १० गते मात्रै बेलौरीमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्र सार्वजनिक गरेको तीन दिनभित्रै उनले आफ्नो दलीय आबद्धता परिवर्तन गर्दै नेकपाको झण्डा समातेका छन् ।

नेकपा प्रवेश गर्ने शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्य समेत रहेका थिए । पार्टी प्रवेशपछि आयोजित कार्यक्रममा बोल्दै उनीहरूले अबको निर्वाचनमा नेकपाकी नेत्री बिना मगरलाई विजयी गराउन पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले क्षेत्रको विकास र राजनीतिक स्थिरताका लागि नेकपाको विकल्प नदेखेको भन्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे ।

निर्वाचनको संघारमा प्रमुख उम्मेदवार नै अर्को दलमा प्रवेश गरेपछि कञ्चनपुर क्षेत्र नम्बर १ को चुनावी समीकरणमा फेरबदल आउने अनुमान गरिएको छ । यस घटनालाई स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ