कञ्चनपुरमा पूर्व पत्रकारद्वय महता र बोहरा चुनावी मैदानमा: संसदीय यात्राका लागि रास्वपाबाट उम्मेदवारी

कञ्चनपुर ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट दुई अनुभवी पूर्व सञ्चारकर्मी प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । लामो समय पत्रकारितामार्फत नागरिकका आवाज बुलन्द गर्दै आएका ज्ञानेन्द्र सिंह महता र दीपकराज बोहरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलो पटक संसदीय निर्वाचनको मैदानमा होमिएका हुन् । जिल्लाका तीन निर्वाचन क्षेत्रका लागि कुल १९ दलका ४४ र ११ स्वतन्त्र गरी ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा दुई पूर्व पत्रकारको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका दीपकराज बोहराले विगत दुई दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय रही सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका थिए । नेपाल टेलिभिजन, न्यूज २४ र ग्यालेक्सी ४के जस्ता सञ्चारमाध्यममा रहेर काम गरेका बोहरा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्य समेत हुन् । समाचारका माध्यमबाट मात्र नभई आफैँ नीति निर्माणको तहमा पुगेर जनताका आधारभूत समस्या समाधान गर्ने संकल्पका साथ उनी घरदैलो अभियानमा व्यस्त छन् । यस क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता रहेका छन् भने बोहराले नेपाली कांग्रेसका एनपी साउद, नेकपा एमालेका वचन बहादुर सिंह र नेकपाका माधव प्रसाद पन्त जस्ता स्थापित नेताहरूसँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्व पत्रकार ज्ञानेन्द्र सिंह महता चुनावी मैदानमा उत्रिएका छन् । झण्डै १३ वर्ष सक्रिय पत्रकारिता गरेका महता रास्वपाका संस्थापक सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा हाल विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् । रेडियो राष्ट्रिय, जनबोली र झिलमिलाका सञ्चालक समेत रहेका उनले विगतमा प्रश्न सोध्ने भूमिकामा रहे पनि अब संसद्‌मा पुगेर नागरिकका समस्याको उत्तर खोज्ने र समाधान गर्ने दाबी गरेका छन् । महताले नेपाली कांग्रेसका हरि प्रसाद बोहरा, नेकपा एमालेका डा. दीपक प्रकाश भट्ट, नेकपाका मान बहादुर सुनार र राप्रपाका पूर्ण बहादुर चन्दसँग कडा प्रतिस्पर्धा गर्दैछन् । १ लाख ३ हजार ८७ मतदाता रहेको यस क्षेत्रमा महताले युवा र नयाँ नेतृत्वको पक्षमा जनलहर रहेको विश्वास व्यक्त गरेका छन् ।

कञ्चनपुरका यी दुवै क्षेत्रमा पुराना र स्थापित दलहरूको बलियो पकड रहँदै आएको इतिहास छ । वि.सं. २०४८ देखि २०७९ सम्मका विभिन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले आलोपालो वर्चस्व जमाउँदै आएका छन् । यद्यपि, पछिल्लो समय परम्परागत राजनीतिक शक्तिहरूप्रति मतदातामा देखिएको वितृष्णा र वैकल्पिक शक्तिको खोजीले यस पटकको निर्वाचन परिणाम रोचक हुने अनुमान गरिएको छ । विशेषगरी युवा मतदाता र सुशासनको पक्षमा वकालत गर्ने वर्गले नयाँ अनुहारलाई रुचाउन सक्ने आँकलन गरिएको छ ।

सञ्चारकर्मीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका यी दुवै उम्मेदवारले बेरोजगारी अन्त्य, युवा पलायन नियन्त्रण, भूमिहीन र सुकुम्वासी समस्या समाधान तथा भौतिक पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएका छन् । विगतमा सञ्चारमाध्यमबाट खबरदारी गर्ने व्यक्तिहरू नै अहिले जनमत लिन जनताको घरदैलोमा पुग्दा मतदाताहरूले पनि निकै उत्साहका साथ आफ्ना गुनासाहरू राख्ने गरेका छन् । फागुन २१ गते हुने मतदानले कञ्चनपुरका जनताले पुरानै शक्तिलाई निरन्तरता दिनेछन् वा नयाँ अनुहारलाई संसद्‌मा पठाउनेछन् भन्ने कुराको फैसला गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ