आज देखि निर्वाचन अवधिभर मदिरा निषेध, फागुन २१ गते यातायातका साधन सञ्चालनमा समेत रोक

बेलौरी, कञ्चनपुर

आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आजैदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि देशभर मदिरा बिक्रीवितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको सात दिन अगाडिदेखि गणना नसकिएसम्मका लागि यो निर्णय गरेको हो।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को प्रावधान अनुसार गठित सुरक्षा समितिले निर्वाचन सुरक्षा योजना अन्तर्गत यो कडा कदम चालेको हो। यस निर्णयको कार्यान्वयनका लागि गृह मन्त्रालयले कञ्चनपुरसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन जारी गरिसकेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले समेत आफ्नो संयन्त्र परिचालन गरी मदिराको अवैध ओसारपसार र सेवन भए/नभएको कडा निगरानी गर्ने बताइएको छ।

निर्वाचनको प्रचारप्रसारका लागि निर्धारित समय सीमा अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि (स्थिर समय) सुरु हुनेछ। सो अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने संवैधानिक व्यवस्था छ। कसैले नियम उल्लंघन गरेमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल कानुनी कारबाही गरिने निर्वाचन आयोगले चेतावनी दिएको छ।

यसैगरी, मतदानको दिन अर्थात् फागुन २१ गते अत्यावश्यक र अनुमति प्राप्त सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। फागुन २० गते राति १२ बजेदेखि २१ गते मतदान सम्पन्न नभएसम्म यो रोक कायम रहनेछ। एम्बुलेन्स, दमकल, शव वाहन, दूरसञ्चार र कूटनीतिक नियोगका सवारीसाधनलाई भने निर्वाध सञ्चालन गर्न दिइनेछ।

निर्वाचनको समयमा हुनसक्ने सम्भावित झडप, विवाद र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न मदिरा निषेधको निर्णय प्रभावकारी हुने विश्वास गरिएको छ। सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रहरूमा समेत सुरक्षा व्यवस्था कडा पारिएको र मतदातालाई निर्धक्क भई मतदान केन्द्रसम्म पुग्ने वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन सक्रिय रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ