भ्रष्टाचार मुद्दामा ६ वर्ष कैद र ८५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा पक्राउ

कञ्चन आवाज संवाददाता, बेलौरी, कञ्चनपुर। विशेष अदालत काठमाडौँबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई करिब ६ वर्ष कैद र ठुलो परिमाणको जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको छ। अदालतको फैसला लगत्तै फरार रहेका लालझाडी गाउँपालिका ५ बस्ने अन्दाजी ५४ वर्षीय पल्टु रानालाई बेलौरी प्रहरीको टोलीले पक्राउ गरेको हो।

विशेष अदालत काठमाडौँको मिति २०८१ वैशाख १४ गतेको फैसलाले रानालाई भ्रष्टाचार निवारण ऐन अन्तर्गतको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा हिनामिनाको कसुरमा दोषी ठहर गरेको थियो। अदालतले निजलाई ५ वर्ष ११ महिना २६ दिन कैद र ८५ लाख २८ हजार ७ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला लगत्तै फरार सूचीमा रहेका रानालाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मङ्सिर १६ गते नियन्त्रणमा लिन सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराका अनुसार, ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा पक्राउ गरिएका रानालाई रीतपूर्वक अदालतमा पेश गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले जिल्लाभर आफ्नो सक्रियता बढाएको डिएसपी बोहराले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ