पुनर्वास, कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका ३, आईबीआरडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकामा लगाइएको ताला पाँच दिनपछि आइतबार खोलिएको छ । संस्थाभित्र देखिएका विविध असमझदारी र नीतिगत विवाद समाधानका लागि सरोकारवालाहरूबीच दुई बुँदे सहमति भएपछि सहकारीको दैनिक कामकाज सुचारु भएको हो ।

गत १७ गते संस्थाको कार्यक्षेत्र, सल्लाहकार समितिको विघटन र भत्ता सुविधा लगायतका विषयमा असन्तुष्टि जनाउँदै सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक श्रीमाया गुरुङ नेतृत्वको पक्षले कार्यालयमा तालाबन्दी गरेको थियो । सहकारीको कार्यक्षेत्रभन्दा बाहिरका सदस्यहरूलाई निष्कासन गरिएको, बहालवाला सल्लाहकार समितिलाई अपदस्थ गरिएको र विगतदेखि प्रदान गरिँदै आएको विभिन्न शीर्षकका भत्ताहरू खारेज गरिएको भन्दै असन्तुष्ट पक्ष आन्दोलित भएको थियो ।

आइतबार भएको सर्वपक्षीय छलफल र सहमति अनुसार कार्यक्षेत्र विवाद समाधानका लागि लचकता अपनाइएको छ । सहमति अनुसार हाल कायम रहेका सेयर सदस्यहरूलाई यथावत राख्ने र कार्यक्षेत्र बाहिरका सदस्यहरूको हकमा आगामी साधारण सभामा विनियम संशोधन प्रस्ताव पेश गरी स्वीकृतिका लागि पुनर्वास नगरपालिकामा पठाउने निर्णय गरिएको छ । यस्तै, आन्दोलनरत पक्षले उठाएको सञ्चालक समिति खारेजी र बैठक भत्तासम्बन्धी मागलाई पनि संस्थाको साधारण सभामा प्रस्तावका रूपमा लैजाने र साधारण सभाले गर्ने निर्णय नै अन्तिम मान्ने सहमति भएको छ ।
छलफलले यसअघि भंग गरिएको भनिएको सल्लाहकार समितिलाई विनियम बमोजिम पुनर्बहाली गर्ने निर्णय समेत सर्वसम्मत रूपमा पारित गरेको छ । साधारण सभाको मिति र स्थानका विषयमा सञ्चालक समितिले निर्णय गरी सम्पूर्ण सेयर सदस्यहरूलाई जानकारी गराउने सहमति भएको छ ।

ताला खुलाउन र विवाद समाधान गर्न आयोजित छलफल कार्यक्रममा पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख धलौराम सार्की, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अतरियाका शाखा प्रबन्धक हिक्मत बहादुर बम, साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवन बस्तीका अध्यक्ष दिना निरौला, पुनर्वास नगरपालिका कार्यपालिका सदस्य शान्ति तामाङ, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सहमति पत्रमा हस्ताक्षर भएसँगै आइतबारबाटै सहकारीका सम्पूर्ण सेवाहरू नियमित भएको संस्थाले जनाएको छ ।





