कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘क्लिन स्वीप’, स्तब्ध बने पुराना शक्ति

बेलौरी, कञ्चनपुर

कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै पुराना राजनीतिक दलहरुको विरासत तोडिदिएको छ। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाले जिल्लाका सबै क्षेत्रमा भारी मतान्तरसहित ‘क्लिन स्वीप’ गरेको हो। वर्षौँदेखि पकड जमाउँदै आएका नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली उम्मेदवारहरूलाई पराजित गर्दै रास्वपाले नयाँ राजनीतिक इतिहास रचेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार जनकसिंह धामीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १३ हजार २ सय २२ मतान्तरले पराजित गर्नुभएको छ। धामीले कुल २४ हजार ३ सय ३२ मत प्राप्त गर्दा नेकपाकी उम्मेदवार विना मगरले ११ हजार १ सय १० मतमा चित्त बुझाउनुभएको छ। यस क्षेत्रमा पूर्वमन्त्री समेत रहनुभएका उम्मेदवारहरूको लज्जास्पद हार भएको छ भने नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू क्रमशः तेस्रो र चौथो स्थानमा खुम्चिएका छन्।

त्यस्तै, क्षेत्र नम्बर २ मा पनि रास्वपाको लहर देखिएको छ। यहाँ दीपक बोहराले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १ सय २५ को फराकिलो मतान्तरले पराजित गर्नुभएको छ। बोहराले ३३ हजार ९ सय ५२ मत ल्याउँदा साउदले १० हजार ८ सय २७ मत मात्र प्राप्त गर्नुभयो। एमालेका बचनबहादुर सिंह ६ हजार ४ सय १८ मतसहित तेस्रो स्थानमा रहनुभएको छ।

जिल्लाको क्षेत्र नम्बर ३ मा समेत रास्वपाकै वर्चस्व कायम रह्यो। यहाँ ज्ञानेन्द्रसिंह महताले २७ हजार १ सय १८ मत प्राप्त गर्दै विजयी झण्डा गाड्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४ सय ४३ मत प्राप्त गर्नुभयो। यस क्षेत्रमा पनि एमाले र नेकपाका उम्मेदवारहरू धेरै पछाडि परेका छन्।

जिल्लाका तीनवटै क्षेत्रमा पुराना र स्थापित भनिएका दलका कतिपय उम्मेदवारको जमानत समेत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कुल ३ लाख १४ हजार ३ सय ८५ मतदाता रहेको कञ्चनपुरमा फागुन २१ गते भएको निर्वाचनमा १ लाख ८४ हजार ३ सय १६ मत खसेको थियो।

यो चुनावी परिणामले सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड ल्याएको स्थानीय विश्लेषकहरू बताउँछन्। मतदाताले पुराना दलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिलाई विश्वास गरेको यस नतिजाले प्रष्ट पारेको छ। विजयपश्चात् रास्वपाका नेताहरूले जनताको भरोसालाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ