बेलौरी नगरपालिकाद्वारा खरिद प्रक्रिया रद्द : प्रशासनिक त्रुटिका कारण बोलपत्र आह्वान बदर

बेलौरी, कञ्चनपुर :

कञ्चनपुरको बेलौरी नगरपालिकाले प्रक्रियागत त्रुटि भएको भन्दै दुईवटा महत्वपूर्ण खरिद प्रक्रिया रद्द गरेको छ। बोलपत्र (दरभाउपत्र) फारम खरिद गर्ने म्याद सकिएपछि पनि प्रशासनिक त्रुटिका कारण राजश्व बुझेर फारम बिक्री भएको र दर्तासमेत भइसकेपछि कानुनी जटिलता आएको बताएर नगरपालिकाले सम्पूर्ण प्रक्रिया नै बदर गरेको हो।

यसरी भयो प्रशासनिक त्रुटि

प्राप्त जानकारीअनुसार घटनाको मुख्य कारण बोलपत्र फारम बिक्री र दर्ताको मिति गणनामा भएको प्रशासनिक अलमल हो। नगरपालिकाले ७ दिनको म्याद राखेर आह्वान गरेको बोलपत्रमा फारम खरिद गर्ने अन्तिम दिन असोज १९ गते हुने थियो र बुझाउने अन्तिम समय असोज २० गते दिउँसो १२ बजेसम्म तोकिएको थियो। तर, कागजी (म्यानुअल) प्रक्रियाबाट काम भइरहेको अवस्थामा म्याद सकिएपछि अर्थात् असोज २० गते पनि एकजना आपूर्तिकर्ता (सप्लायर) बाट रु. १,००० राजश्व बुझेर फारम बिक्री हुन पुग्यो।

ती आपूर्तिकर्ताले सोही दिन कार्यालयमा आफ्नो दरभाउपत्र दर्तासमेत गराए। तर पछि कार्यालयले म्याद सकिएपछि बिक्री भएको फारम दर्ता भएको पाइएपछि ‘रीत नपुगेको’ (कानुनी प्रक्रिया पूरा नभएको) भन्दै उक्त दर्तालाई खारेज गरिदियो। दर्ता नै खारेज भएपछि आपूर्तिकर्ताले ‘म्याद सकिसकेको भए कार्यालयले किन राजश्व बुझेर फारम बिक्री गर्‍यो र दर्ता गर्‍यो त ?‘ भन्दै स्वाभाविक रूपमा प्रश्न उठाएका थिए।

यसरी म्याद गुज्रेर बिक्री भएको उक्त फारमलाई खारेज गर्दा रीतपूर्वक परेका बोलपत्रको संख्या २ वटा मात्र कायम हुन गयो। सार्वजनिक खरिद नियमअनुसार प्रतिस्पर्धाका लागि कम्तीमा ३ वटा बोलपत्र पर्नुपर्ने व्यवस्था छ। बोलपत्रदाताको न्यूनतम संख्या नपुगेपछि नगरपालिकाले सम्पूर्ण खरिद प्रक्रिया नै रद्द गर्नुपरेको हो।

‘त्रुटि महसुस गरी प्रक्रिया सच्याएका छौं’

यस विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले कार्यालयको तर्फबाट प्रशासनिक त्रुटि भएको स्वीकार गरेका छन्।

” प्रशासनिक प्रक्रियामा त्रुटि भएकै हो, हामीले उक्त कुरा महसुस गर्‍यौं र त्यसलाई सच्याएका छौं,” प्रमुख प्रशासकीय अधिकृत जोशीले भने। म्याद सकिएपछि आएको दर्तालाई मान्यता दिँदा भोलिका दिनमा कानुनी प्रश्न उठ्ने देखिएकाले कानुनसम्मत रूपमै प्रक्रिया रद्द गरिएको उनले स्पष्ट पारे।नगरपालिकाले अब छिट्टै कानुनबमोजिम नयाँ खरिद प्रक्रिया अगाडि बढाउने जनाएको छ।

भूल सुधार (सम्पादकीय नोट)

भूल सुधार : यस समाचारको प्रारम्भिक विवरणमा नगरपालिकाको सूचना प्रकाशन मिति २०८३/०६/१२ पर्न गएकोमा, उक्त खरिद प्रक्रिया रद्द गरी ‘पुनः सूचना प्रकाशन’ गर्ने निर्णय मिति २०८३/०६/२० मा भएको व्यहोरा सच्याइएको छ।तथ्यगत त्रुटिका लागि क्षमाप्रार्थी छौं। – सम्पादक

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ