बेलौरीमा रास्वपाको “हामी आउँदै छौँ अभियान” भव्य रूपमा सम्पन्न; सुशासन, क्यान्डिडेट क्लब र स्थानीय समृद्धिका सवालमा नेताहरूको जोड

कञ्चनपुर, असोज २३ (२०८३):

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलौरी नगर समितिको आयोजनामा कञ्चनपुरको बेलौरी बजारस्थित प्रेम होटल एण्ड टेन्ट हाउसमा “हामी आउँदै छौँ अभियान” विशेष राजनीतिक तथा सांगठनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। चेतनाथ दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पार्टीका प्रतिनिधिसभा सांसद हरिमोहन भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, प्रदेश सह-महामन्त्री पारस बाहुन, क्षेत्रीय सभापति वीरेन्द्र शाही (बिरु), कञ्चनपुर जिल्ला सभापति पदम विष्ट, जिल्ला उपसभापति भागवती बराल, सह-सचिव एकराज जोशी, कोषाध्यक्ष हेमराज पाण्डेय तथा जिल्ला सदस्य लक्ष्मण राना लगायत पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको व्यापक सहभागिता रहेको थियो।

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद हरिमोहन भण्डारीले विगत ३५ वर्षदेखि पुरानो राजनीतिक नेतृत्वका कारण देशले गति लिन नसकेको र अब जनताले ढिलासुस्ती नभई प्रत्यक्ष परिणाममुखी ‘फास्ट डेलिभरी’ खोजेको बताउनुभयो। संसद्मा सुदूरपश्चिमका हकअधिकार, बजेट विनियोजन र विकास निर्माणका योजनाहरूमा आफूले निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै उहाँले यदि आफ्नो क्षेत्रको विकासमा बजेट कटौती वा विभेद भए आफ्नै पार्टी र सरकारविरुद्ध पनि लड्न पछि नहट्ने चेतावनी दिनुभयो। उहाँले गेटा मेडिकल कलेज, खुटिया–फास्ट ट्र्याक र महाकाली करिडोर जस्ता गौरवका आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिँदै बेलौरीको जीर्ण सडक, अव्यवस्थित बस्ती, सिँचाइको अभाव तथा उखु र तेल उद्योगको स्थापनामार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, जेन्जी आन्दोलनले ल्याएको राजनीतिक जागरणलाई स्मरण गर्दै उहाँले देशमा भ्रष्टाचार र दलीय सिन्डिकेट अन्त्य गरी वास्तविक सुशासन स्थापित गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले रास्वपाले परम्परागत पार्टीहरूको ‘दाइ-भाउजूको आशीर्वाद र टीका लगाएर टिकट बाँड्ने’ गलत प्रथालाई पूर्ण रूपमा अन्त्य गर्न ‘क्यान्डिडेट क्लब’ नीति लागू गरेको विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः वैज्ञानिक र निष्पक्ष बनाउन चार खण्डमा वर्गीकरण गरिएको छ, जसमा १० वटा मोड्युलमार्फत संविधान, कानुन, स्थानीय व्यवस्थापिका र सुशासनसम्बन्धी प्रशिक्षण र परीक्षा हुने ‘लिडरसिप एकेडेमी’लाई २५ प्रतिशत, विगतको योगदान, जनसम्बन्ध र सदाचार मूल्यांकन गरिने ‘पोलिटिकल प्रोक्सिमिटी’लाई २५ प्रतिशत, महिला, दलित, जनजाति, थारू, युवा तथा वैदेशिक रोजगारीबाट फर्केकाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने ‘समावेशी’लाई १० प्रतिशत र स्थानीय मतदाताको प्रत्यक्ष सहभागिता रहने ‘प्राइमरी इलेक्सन’लाई ४० प्रतिशत भार छुट्याइएको छ। नेताको चाकडी गरेर टिकट पाइने भ्रमबाट मुक्त हुन आग्रह गर्दै उहाँले समाजमा विवादित, आर्थिक पतन भएका वा भ्रष्टाचारी व्यक्तिहरूलाई पार्टीले कुनै पनि हालतमा टिकट नदिने प्रष्ट पार्नुभयो।

यसैगरी, बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले नगर समितिको सांगठनिक प्रगति विवरण प्रस्तुत गर्दै बेलौरीका १० वटै वडामा अधिवेशन सम्पन्न भइसकेको र हालसम्म करिब ८०० जना औपचारिक रूपमा प्रमाणीकरण भएका तथा ४३२ जना अन-भेरिफाइड सदस्यहरूको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। कञ्चनपुरकै ऐतिहासिक पहिलो सदरमुकाम बेलौरी अहिले विकासको दृष्टिकोणले पछाडि परेको गुनासो गर्दै उहाँले उन्नत जातको बीउबिजन, समयमै रासायनिक मल, शीतभण्डार (कोल्ड स्टोर), कृषि उपज संकलन केन्द्र र सीमा क्षेत्रको भन्सार व्यवस्थापन नगरिए किसानहरू सधैँ मारमा पर्ने बताउनुभयो। नगर उपसभापति तारा विष्टले लेखापढी व्यवसायीहरूका जनजीविका र पेशागत अधिकारको रक्षा गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राख्दै पार्टी संगठनमा स्थानीय तहबाट दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा युवा अभियन्ता विष्णु अवस्थीले जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विद्यार्थी तथा नागरिकहरूको बलिदानले नै वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गराउँदै दोषी र हत्याराहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याएर कडा सजाय दिनुपर्ने माग गर्नुभयो। वडा नम्बर ४ का सभापति बुद्धि गौतमले वडा तहमा सदस्यता विस्तार गर्दा देखिएका व्यावहारिक कठिनाइ, साधारण जनताका लागि सदस्यता शुल्कको पुनरावलोकन र स्थानीय नेतृत्वलाई राजनीतिक तथा प्रशासनिक प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रमको अन्तिम चरणमा खुला सत्रमार्फत सहभागीहरूले स्थानीय विकास, जनसरोकार र पार्टीको आगामी रणनीतिबारे राखेका विभिन्न जिज्ञासाहरूको शीर्ष नेतृत्वले सम्बोधन गर्दै रास्वपालाई सुदूरपश्चिममा वैकल्पिक र बलियो शक्तिका रूपमा स्थापित गर्ने सामूहिक संकल्पका साथ कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ