बेलौरी, कञ्चनपुर (कञ्चन आवाज)
सर्वोच्च अदालतले बजेट रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै शनिबार बिहान आठ बजेका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अपराह्न चार बजेसम्मका लागि सारिएको छ। प्रदेश सरकारभित्र मन्त्रालयगत योजना प्रविष्टि तथा आन्तरिक शक्ति सन्तुलन मिलाउन थप गृहकार्य आवश्यक परेपछि कार्यसूची तय भइसकेको बैठकको समय पछाडि धकेलिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयका अनुसार अपराह्न बस्ने बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ। विगत केही समयदेखि बजेट विवादका कारण नीतिगत तथा कानुनी अन्योल झेलिरहेको प्रदेशमा सर्वोच्चको पछिल्लो आदेशपछि कानुनी अड्चन हटे पनि सत्तापक्षीय दलहरूभित्र मन्त्रालयगत बजेटको बाँडफाँट र योजनाहरूको अन्तिम टुङ्गो लगाउन छलफल जारी रहेकाले बिहानको समय लम्बिएको हो।
बडादसैँको पूर्वसन्ध्यामा लामो समयदेखि रोकिएको आर्थिक गतिरोध फुकाउन सचिवालयले विशेष प्रक्रिया अवलम्बन गर्ने भएको छ। गत साउन महिनादेखि रोकिएको निजामती कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरूको तलबभत्ता समयमै निकासा गर्न प्रदेश सभा नियमावलीका कतिपय प्रक्रियागत प्रावधान निलम्बन गरी द्रुतमार्गबाट आजै बजेट पारित गर्ने रणनीतिमा सरकार जुटेको छ।
चाडपर्वको मुखमा सरकारी कर्मचारीले पारिश्रमिक नपाउँदा प्रदेशभर बजार चलायमान हुन नसकेको र सर्वसाधारणको दैनिकीमा समेत असर परिरहेको भन्दै प्रदेशवासीले तत्काल निकास दिन दबाब दिँदै आएका थिए। यस्तो पृष्ठभूमिमा आजै बजेट पारित भएर कानुनी मान्यता पाएमा प्रदेशको वित्तीय अनिश्चितता अन्त्य भई रोकिएका विकास निर्माणका भुक्तानी तथा प्रशासनिक कार्यहरू सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ





