कुमारी बैंक लिमिटेड बेलौरी शाखाद्वारा श्री महाकाली माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षालाई सामग्री सहयोग

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरीस्थित श्री महाकाली माध्यमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई कुमारी बैंक लिमिटेड बेलौरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सहयोग स्वरूप विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ।

विद्यालयको उक्त स्रोत कक्षामा अध्ययनरत विशेष आवश्यकता भएका बालबालिकाहरूको सहजताका लागि कुमारी बैंक लिमिटेड बेलौरी शाखाले सिएसआर अन्तर्गत दुई वटा कुलर र भोल्टास कम्पनीको एक वटा चिसो तथा तातो पानी दिने मेसिन प्रदान गरेको हो।

कुमारी बैंक लिमिटेड बेलौरी शाखाका शाखा प्रबन्धक रविन्द्र के.सी., काउन्टर इन्चार्ज सुशील गिरी र कर्मचारी मैना रिजालले उक्त सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो। गर्मीको समयमा विद्यार्थीहरूलाई शुद्ध पिउने पानी र कक्षाकोठामा अनुकूल वातावरण प्राप्त गर्न यस सहयोगले ठुलो टेवा पुग्ने बताइएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भोज राज चौधरी, विद्यालयका पूर्व अध्यक्ष प्रेम सिंह बोहरा, प्रधानाध्यापक रमेश सिंह भण्डारी र शिक्षक अभिभावक संघ (पिटिए) का अध्यक्ष कलेसी रानाको विशेष सहभागिता रहेको थियो।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू चामु राम टमटा, माया चौधरी, भानमती बडायक र शिक्षक प्रतिनिधि डिल्ली प्रसाद खरेलले पनि कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो। उक्त अवसरमा बौद्धिक अपाङ्गता स्रोत कक्षाका स्रोत शिक्षक जय बहादुर रानाले बैंकको यस सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ