पुनर्वास (कञ्चनपुर) :
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ स्थित कालिका स्वास्थ्यचौकी परिसरबाट हिजो (मंगलबार) बिहान एउटा स्कुटर चोरी भएको छ।
प्राप्त जानकारीअनुसार, स्थानीय रोशनी तामाङको नाममा रहेको रातो रङको ‘हिरो जुम १२५’ (Hero Xoom 125) स्कुटर बिहान करिब ८:३० बजेको समयमा चोरी भएको हो। उक्त स्कुटरको दर्ता नम्बर सु.प.प्र. ०१-०१४ प १३८२ रहेको छ। घटनास्थल वरपरको सिसिटिभी फुटेजमा बिहान ८:३३ बजेको समयमा एक व्यक्तिले उक्त स्कुटर चलाएर लगिरहेको देखिएको छ।
फुटेज र प्राप्त तस्बिरहरूमा चेक सर्ट लगाएका एक अपरिचित शंकास्पद व्यक्तिले उक्त रातो कालो रङको स्कुटर लगिरहेको देखिन्छ।
यस घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई जानकारी गराइसकिएको छ। प्रहरीले सडकका सिसिटिभी फुटेज र शंकास्पद व्यक्तिको हुलियाका आधारमा खोजी कार्य तथा अनुसन्धान अगाडि बढाएको छ। स्कुटर धनी तामाङले फुटेजमा देखिएका शंकास्पद व्यक्ति वा उक्त सु.प.प्र. ०१-०१४ प १३८२ नम्बरको स्कुटर कतै देखेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेकी छन्।





