तस्बिर विवरण: चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८३ को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश राज पन्त तथा महासचिव रामेश्वर न्यौपाने लगायत पुर्व अध्यक्ष आत्माराम दाहाल र टेक बहादुर साउद।
बेलौरी, कञ्चनपुर:
ऐतिहासिक पुरानो सदरमुकाम बेलौरी बजारको खस्कँदो व्यापार, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८३’ आयोजना हुने भएको छ। बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म उक्त मेला सञ्चालन हुन लागेको हो।
मेलाको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश राज पन्तले स्थानीय बजारको दयनीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। “बेलौरीको व्यापार एकदम खस्किएको अवस्था छ, करिब ६० प्रतिशत पसलहरू बन्द भइसकेका छन्,” अध्यक्ष पन्तले भने, “यही बजारलाई कसरी उन्नति र प्रगति तिर लैजाने, यहाँका किसान र व्यापारीका समस्या कसरी समाधान गर्ने भन्ने मूल उद्देश्यका साथ हामीले यो महोत्सव आयोजना गरेका हौँ”। उनले स्थानीयस्तरमा सञ्चालित दुईवटा चिनी मिल, इँटा भट्टा, र डिस्टिलरी जस्ता उद्योगहरूको प्रवर्द्धनका लागि पनि यो मेला महत्त्वपूर्ण हुने दाबी गरे।
पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले बेलौरी क्षेत्रको पूर्वाधार विकास, विशेषगरी सडक सञ्जालको दयनीय अवस्था र सीमावर्ती आवागमनमा हुने सास्तीबारे पनि कडा असन्तुष्टि जनाए। जिल्ला सदरमुकाम जोड्ने सडकको दुरावस्था र कालागौंडी तथा सीमा क्षेत्रका खाल्डाखुल्डीका कारण आवागमन कष्टकर भएको उनले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरूसँग ‘मानवताको नाताले’ बाटो सहज बनाइदिन आफूले आग्रह गरेको र स्थानीय जनप्रतिनिधि, पूर्व सांसद तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पहलमा बोर्डरमा केही सहजीकरण भएको उनले जानकारी दिए। नजिकिँदै गरेको उखु सिजनलाई मध्यनजर गर्दै कालो पुलदेखि पचुईसम्मको बाटो मर्मत गर्न स्थानीय सरकारलाई परिपत्र गरिएको संघले जनाएको छ।
महोत्सवले स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरू ऐतिहासिक कालिका मन्दिर, सिद्धबाबा मन्दिर र कालेश्वर मन्दिरको प्रचारप्रसारमा विशेष जोड दिनेछ। ५ लाख रुपैयाँको लागतमा स्थानीय उपभोक्ताले निर्माण सुरु गरेको कालिका मन्दिर आज करोडौंको पर्यटकीय क्षेत्र बनेको उदाहरण दिँदै पन्तले जनसहभागिताको महत्त्व दर्साए। यसका साथै, महोत्सवमा दक्षिण भेगका आदिवासी जनजाति (राना थारु लगायत) को पहिचान झल्काउने कार्यक्रम राखिने र युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक स्टलहरूसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।






