कञ्चनपुर, पुनर्वास
नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै सीमा नाकामा नागरिकको आवतजावतलाई सहज र व्यवस्थित बनाउन कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित सीमावर्ती क्षेत्रमा नागरिक सहायता केन्द्र स्थापना भएको छ। बिहीबार बसेको सीमा सहजीकरण समितिको नियमित बैठकले भारतबाट रोजगारी गरी फर्किने नेपाली तथा घरायसी सामान खरिदका लागि भारतीय बजार जाने नागरिकलाई लक्षित गर्दै नाकामा सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी बल बीओपी पुनर्वासका प्रहरी निरीक्षक तथा समितिका सदस्य सचिव दीपेन्द्रबहादुर मल्लका अनुसार उक्त सहायता केन्द्रमार्फत सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई आवश्यक जानकारी, सहजीकरण तथा सम्बन्धित निकायसँगको समन्वयमा मद्दत पुर्याइनेछ। खुला सीमा नाकाको फाइदा उठाउँदै हुनसक्ने लागूऔषध ओसारपसार तथा दुर्व्यसन न्यूनीकरणका लागि सुरक्षाकर्मीले विशेष निगरानी बढाइरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक मल्लले यस कार्यमा नागरिकस्तरबाट पनि आवश्यक सूचना आदानप्रदान गरी सहयोग गर्न समुदायलाई अनुरोध गर्नुभयो।

चाडपर्वको समयमा नाकामा हुने भिडभाड र नागरिकले भोग्नुपर्ने सम्भावित सास्तीलाई मध्यनजर गर्दै बैठकमा सीमा क्षेत्रका विविध समस्या समाधानका विषयमा गम्भीर छलफल भएको थियो। नागरिकका गुनासा तत्काल सम्बोधन गर्न र नागरिकमैत्री सेवा प्रवाहका लागि सरोकारवाला निकायबीच आपसी समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता बैठकमा सहभागीहरूले व्यक्त गरेका छन्।

पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा सीमा सहजीकरण समितिका अध्यक्ष मित्रसिंह लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी सहायक निरीक्षक राजेशकुमार चौधरी, वडाका जनप्रतिनिधि, पत्रकार तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सीमा क्षेत्रमा सरोकारवाला निकायले देखाएको यस सक्रियता र समन्वयले आगामी दिनमा नागरिकको आवागमन थप सुरक्षित, मर्यादित र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ। (रिपोर्टिङ: धनबहादुर बिक)





