बेलौरी, कञ्चनपुर
कञ्चनपुरको बेलौरी र यहाँको समग्र शैक्षिक तथा खेलकुद क्षेत्रका लागि एक अत्यन्तै गौरवको क्षण जुरेको छ। यहाँस्थित प्रतिष्ठित वात्सल्य विद्या निकेतनमा अध्ययनरत दुई होनहार विद्यार्थी खेलाडीहरू अन्डर-१९ (U-19) क्रिकेट टोलीमा समावेश हुँदै प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन्।


विगत लामो समयदेखि मैदानमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका निराजन थापा र हिमाल पन्तले प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको महत्त्वपूर्ण यात्रा तय गरेका हुन्।सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघद्वारा आयोजित ‘वाइ-वाइ अन्डर-१९ ब्वाइज प्रदेश छनौट एकदिवसीय क्रिकेट प्रतियोगिता २०८३’ आज (२०८३/०६/२४) देखि सुरु भएको छ।

प्राप्त विवरण अनुसार, यस प्रतियोगितामा हिमाल पन्तले कञ्चनपुर जिल्लाको तर्फबाट र निराजन थापाले बैतडी जिल्लाको तर्फबाट आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गर्नेछन्।

स्मरण रहोस्, वात्सल्य विद्या निकेतन क्रिकेटमा एक अब्बल टोलीको रूपमा स्थापित छ। २०८२ सालमा आयोजित जिल्ला स्तरीय स्कूल क्रिकेट प्रतियोगितामा उपविजेता बनेको यस विद्यालयले आफ्नो प्रदर्शनमा सुधार गर्दै २०८३ को सोही प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ जिल्लाकै विजेता (च्याम्पियन) टोली बन्न सफल भएको थियो। सो ऐतिहासिक सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका विद्यालय टोलीका कप्तान हिमाल पन्त उक्त प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (Player of the Series) घोषित भएका थिए। तिनै सर्वोत्कृष्ट खेलाडी हिमाल र अर्का होनहार प्रतिभा निराजनले अहिले प्रदेश स्तरमा स्थान बनाएर विद्यालयको मात्र नभई सिङ्गो जिल्लाको शिर उँचो बनाएका छन्।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार, प्रतियोगिताका खेलहरू दशरथचन्द क्रिकेट स्टेडियम (बैतडी) र फाप्ला क्रिकेट मैदान (कैलाली) मा सञ्चालन भइरहेका छन्। सहभागी टोलीहरूलाई समूह ‘ए’ (बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ) र समूह ‘बी’ (कैलाली, कञ्चनपुर, डोटी र अछाम) गरी दुई भागमा विभाजन गरिएको छ।

आज (२०८३/०६/२४) उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको निराजन थापा सम्मिलित टोली बैतडीले दार्चुलाको सामना गर्दैछ। यो खेल बिहान ८:३० बजेदेखि दशरथचन्द क्रिकेट स्टेडियम बैतडीमा सुरु भएको छ। त्यस्तै, हिमाल पन्त सम्मिलित समूह ‘बी’ को कञ्चनपुरको पहिलो खेल भोलि (२०८३/०६/२५) फाप्ला क्रिकेट मैदान कैलालीमा अछाम विरुद्ध बिहान ८:३० बजे हुने तालिका रहेको छ। समूह विजेताहरू बीचको फाइनल खेल भने २०८३/०६/३१ गते बैतडीमा हुनेछ।
विद्यार्थीहरूको यस ऐतिहासिक सफलताप्रति खुसी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिहं दियालले यस उपलब्धिलाई विद्यार्थीहरूको कडा मेहेनत, अनुशासन र विद्यालयको निरन्तर प्रोत्साहनको प्रतिफल भएको बताएका छन्।
प्रधानाध्यापक दियालले खुसी व्यक्त गर्दै भने, “बेलौरी र वात्सल्य विद्या निकेतनको लागि यो साँच्चै नै गौरवको क्षण हो। हाम्रा विद्यार्थीहरूले खेल मैदानमा देखाएको लगनशीलताले सिङ्गो विद्यालय परिवारलाई हर्षित बनाएको छ। निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै U-19 क्रिकेट टोलीमा समावेश भई प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकोमा हाम्रा दुवै विद्यार्थी खेलाडीहरू निराजन र हिमाललाई म व्यक्तिगत रूपमा र सिङ्गो विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”
विद्यालयले आफ्ना विद्यार्थी खेलाडीहरूको उपलब्धिलाई ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ का रूपमा लिएको छ। “खेलकूदले जोड्छ, शिक्षाले उज्यालो बनाउँछ” भन्ने व्यावहारिक तथा प्रेरणादायी नारालाई आत्मसाथ गरेको यस विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्रोत्साहन गर्दै आएको छ।
शिक्षा, अनुशासन, र संस्कारसहितको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध वात्सल्य विद्या निकेतनको यस सफलताले स्थानीय स्तरमा खेलकुदको विकास र सम्भावनालाई थप उजागर गरेको छ। ग्रासरुटदेखि नै क्रिकेटमा गहिरो लगाव राख्ने यी दुवै प्रतिभावान खेलाडीले आगामी प्रतियोगितामा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भविष्यमा राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्ने विश्वास सम्पूर्ण बेलौरीवासी तथा खेल प्रेमीहरूले लिएका छन्।





