कञ्चनपुर। मेरो जन्म सामान्य परिवारमा भएको हो। सात दाजुभाई, तीन दिदि–बहिनीहरूबीच म कान्छी छोरी हुँ। मेरो बाबा एकदमै मेहनती र लगनशील हुनुहुन्थ्यो। उनको मेहनत र लगनशीलताले गाउँ–समाजमा फरक पहिचान बनाएको छ। त्यति ठूलो परिवारको जिम्मेवारीसँगै छोरा–छोरीको पढाइँ खर्च जुटाउन त्यति सहज त थिएन होला, तर पनि सबैलाई पढाउनु पर्छ भन्ने सोच थियो त्यो बेला। र पढाउनु पनि भयो।
हाम्रो घरमा मान्छेहरूको आवतजावत अरूको भन्दा धेरै नै हुन्थ्यो। बिहानदेखि साँझसम्म बाबा गफ गर्दै बस्नुहुन्थ्यो। घरमा मान्छेहरू धेरै आउजाउँ हुँदा, आमा कहिलेकाहीँ रिसाउँदा बाबा सम्झाउँदै भन्नुहुन्थ्यो, “जुन घरमा भगवानको वास हुन्छ, त्यहाँ पाहुना आउने हुन्छ; पाहुना भनेको भगवानको स्वरुप हो। केही खुवाउनु नभए पनि एक मिठो वचन बोलिनु—त्यो नै मानिसमा हुनुपर्ने सुन्दर पक्ष हो।”
बाबाले सिकाएको यो संस्कार अहिलेसम्म जीवित छ हाम्रो परिवारमा। यति महत्वपूर्ण संस्कारको निमित्त म बाबाप्रति उच्च सम्मान व्यक्त गर्दछु। सधैँ घरमा मान्छे भरिभराउँ हुन्थे, तर केहि समयपछि अलि बढी भिड हुन थालेको थियो, जुन बेला जनयुद्ध उत्सर्गमा पुग्न लागेको रह्यो। युद्धमा लड्ने योद्धाहरू हाम्रो गाउँमा आउँदा प्रायः हाम्रो घरमा बास बस्थे। मेरा बाबा र आमाले सहजता का साथ हेरचाह गर्थे। उनीहरूलाई राम्रोसँग थाहा थियो कि यो लडाइँ आन्दोलन हाम्रो लागि हो; जमिन्दारको अत्याचार सहन नसकेर, दाङबाट बसाइ सरेर बाँकेमा आउनुभएको थियो। त्यसैले मेरी आमा पनि उत्तिकै सक्रिय थिइन्। उनले गाउँभरिका आमाहरूलाई जम्मा गरेर, राको जुलुस बालेर अगाडि–आगाडि नारा लगाउन गएको अहिले पनि याद छ मलाई। “कहाँ जाईतो दाइ ?” भनेर सोध्दा, “शासकहरूको विरुद्ध आन्दोलन कर” भन्थिन। धेरै कुरा मैले आमाबाट सिक्ने मौका पाएँ। हाम्रो घरमा आउने व्यक्तिहरू को हुन् र केका लागि यसरी घर छोडेर हिडिरहेका छन् भन्ने कुरा थाहा पाएपछि, अझ नजिकबाट बुझ्न मन लाग्थ्यो। उहाँहरूले आयोजना गरेका हरेक कार्यक्रममा सहभागी हुन मन लाग्थ्यो; जन–सांस्कृतिक कार्यक्रमदेखि अरू धेरै कार्यक्रमहरूमा सहभागी भएर धेरै कुरा सिक्ने मौका प्राप्त गरेँ।
बिस्तारै उत्पीडित वर्गहरूले यी सबै कुरा बुझेपछि, झनझन क्रान्तिको बिगुलको आवाज चर्को हुन थाल्यो। सदीयौ कालदेखि पिल्सिएका तन–मन जब शक्तिमा परिणत भयो, घरपरिवार सबै भुलेर, सबैले शासकहरूको शासनलाई अन्त्य गर्न र ज्यानको बाजी लगाउन तयार भएका योद्धाहरूको जमात सानो थिएन।युद्धको ज्वाला गाउँ–गाउँमा दन्कीरहेको थियो। अरू ठाउँहरूमा कस्तो अवस्था थियो थाहा भएन मलाई, तर मेरो गाउँको वरिपरिको अवस्था निकै त्रासदीपूर्ण र भयानक थियो। कति दिनको भोकभोकै त्यही माथी थालको भात छोडेर भाग्दै गरेको, कति रात जाग्राम बसेको—सबै दृश्य वरिपरी नाचिरहेका छन। परर मकै भुटेझै, बम–बारुदको आवाजले निदाउन नपाएका कहाली लाग्दा रातहरू कति छन कति। कहिलेकाहीँ त बमको आवाजले कान शुन्य भइसकेका थिए होला, कहिलेकाहीँ अगाडि मान्छे ढलेको थाहा नपाइने अवस्था पनि थियो। नेपालगन्ज जाँदा बाटोमा चेक हुन्थ्यो; बैजापुरका भन्नै नहुने पिटी हाल्ने शासकहरूको आक्रमण नभएको दिनै थिएन होला तर हार मानेनन् हाम्रा महान योद्धाहरूले—अदम्य साहस बोकी अन्त्यसम्म लडिरहे, निरंकुश शासनको सत्ता अन्त्य गराएरै छाडे।
यो दिन ल्याउन सहज त पक्कै पनि थिएन। म सानै भएपनि एकदमै नजिकबाट धेरै कुरा देखेँ र भोगेँ। महिलाहरूमाथि गरिएको त्यो कुरुपता सम्झँदा, उनीहरूले लगाउने लुगा देख्दा अहिले पनि मनमा चिसो पस्छ। यस्ता समस्याहरू हजारौँ दिदि–बहिनी र आमाहरूले भोगेका छन्। आत्म–सम्मानसहित पूरै परिवार गुमाएपछि, गणतन्त्र र लोकतन्त्र स्थापना गर्न हजारौँ सहिदको बलिदानीले ल्याएको गणतन्त्रको आँगनमा उभिएर म फलानी हुँ; मेरो अधिकार छ, यस समाजमा म पनि केहि गर्न सक्छु—छाती खोलेर निर्धक्क साथ भन्न सक्ने भएका छौं।
एक पटक स्मरण गरौँ—यदि समावेशी, समानुपातिक सिद्धान्त हुन्थेन भने, सधैं चुलो चौकामा सीमित रहने महिलाले यो देशको राष्ट्रपति कसरी बन्न पाउँथ्यो? दलितको छोरा–छोरी कहिले सांसद बन्न पाउँथे? थारुको छोरा–छोरी कहिले सांसद बन्न पाउँथे? उत्पीडित जाती समुदायको पीडालाई आत्मसाथ गर्दै, जनयुद्धका परिकल्पनाकारहरू प्रति आत्मैदेखि सम्मान छ। यो देशमा आमूल परिवर्तन ल्याउन बगाएका हजारौँ सहिदको रगतले लेखिएको यस व्यवस्था संरक्षण गर्ने जिम्मा हामीमाथि छ। हामी नभुलौँ कि दासबाट मान्छे हुँदै राज्य–सत्ता सम्म पुग्न सफल भएका छौं। परिवर्तन आजको भोली हुँदैन।
वीर सहिदहरूले देखेका सपना साकार गर्नको निमित्त, उत्पीडित वर्ग एकजुट हौँ। महान शहिदहरूमा लाल सलाम अर्पण गर्दै, ३०औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सम्पूर्ण दाजु–भाइ तथा दिदि–बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

लेखिका, सुनिता चौधरी (थारू कल्याणकारिणी सभा, कञ्चनपुर जिल्ला सभापति)





