बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० भुडास्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडाबाट सशस्त्र प्रहरी हवल्दार वसन्तबहादुर सिंहको कमाण्डमा खटिएको पाँच जनाको सीमा गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो। बिहान करिब १० बजेको समयमा गरिएको जाँचका क्रममा उनीहरूले लगाएको पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा अन्दाजी १.५ ग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद भएको हो।
पक्राउ पर्नेमा कञ्चनपुरकै बेलडाँडी गाउँपालिका वडा नम्बर ३ बनकुरुवा बस्ने अन्दाजी २२ वर्षीय सुनिल डगौरा र सोही ठाउँका अन्दाजी १८ वर्षीय हरिष चौधरी रहेका छन्। उनीहरूको साथबाट लागुऔषधका अतिरिक्त एउटा रेड्मी कम्पनीको मोबाइल र नेपाली रुपैयाँ दुई हजार तीस नगद पनि सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बेलौरीका प्रहरी नायब उपरीक्षक योग्य बस्नेतका अनुसार पक्राउ परेका दुवै जना तथा बरामद गरिएका सामग्री आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको छ। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार र आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले उच्च सतर्कताका साथ गस्ती गरिरहेको उहाँले जानकारी दिनुभयो।





