बेलौरी, कञ्चनपुर
कञ्चनपुर जिल्लाका दुई फरक स्थानबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा र बेलौरी नगरपालिका अन्तर्गतका क्षेत्रहरूमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झण्डै ६० ग्राम लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले शुक्लाफाँटा नगरपालिका ५ खजुवास्थित क्षेत्रबाट बेलडाँडी गाउँपालिका २ बस्ने सुवाश पाण्डेलाई नियन्त्रणमा लिएको छ। शंका लागेर चेकजाँच गर्ने क्रममा पाण्डेको साथबाट लुकाई छिपाई राखिएको अवस्थामा ४९ ग्राम ३३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
त्यसैगरी, ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० दर्शिखल्लामा चेकजाँच गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरेको छ। प्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका ६ ओझाखानी बस्ने ईश्वर डगौरा र सोही ठाउँका आकाश डगौराको साथबाट १० ग्राम ५२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरीले उक्त मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका तीनै जनालाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन बमोजिम थप कानूनी कारबाहीका लागि विस्तृत अनुसन्धान भइरहेको छ।





