कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडीबाट बहुविवाह मुद्दामा तीन दशकदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको २०५२ साल असार ७ गतेको फैसलाले बहुविवाह मुद्दामा दोषी ठहर भएका बेलडाँडी गाउँपालिका वडा नं ३ खैरिघाटका ५८ वर्षीय शोभान सिंह खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अदालतले खड्कालाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई यही वैशाख २ गते बिहान करीब १० बजे उनकै घर ठेगानाबाट पक्राउ गर्न सफल भएको हो । लामो समयदेखि कानुनको नजरबाट जोगिँदै आएका खड्कालाई अन्ततः प्रहरीले आफ्नै सक्रियतामा फेला पारेको छ ।
पक्राउ परेका खड्कालाई आवश्यक कारबाही तथा कैद भुक्तानका लागि कञ्चनपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।





