काठमाडौं— प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यथार्थपरक रहेको भन्दै पूर्ण समर्थन जनाएका छन्। बैशाख २३ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले यसपटक व्यवहारिक दृष्टिकोण अपनाएको उल्लेख गरे।
“अघिल्लो सरकारका नीति तथा कार्यक्रम आयोजनामुखी त हुन्थे, तर समयमा पूरा नहुँदा जनताले सास्ती खेप्नुपरिरहेको छ,” तामाङले भने, “तर अहिलेका कार्यक्रम छोटो र दीर्घ अवधिको स्पष्ट कार्यकालसहित ल्याइएको छ, जुन सकारात्मक पहल हो।”
उनले एउटै विषयमा सरकार र प्रतिपक्षमा हुँदा फरक धारणा राख्ने राजनीतिक प्रवृत्तिको आलोचना गर्दै अहिलेको नीति तथा कार्यक्रम समसामयिक आवश्यकता अनुसारको भएको जिकिर गरे। “सरकारले यथार्थलाई स्वीकार गर्दै मितव्ययिता, अनावश्यक संरचना मर्ज, र कार्यान्वयन योग्य लक्ष्य तय गरेको छ,” तामाङले भने।
नीति तथा कार्यक्रमको कार्यान्वयन चरणलाई अझ प्रभावकारी बनाउनुपर्ने तामाङको भनाइ थियो। “कार्यक्रम ल्याउनु मात्र पर्याप्त छैन, जनताले अनुभूति गर्ने गरी परिणाम दिन सक्नु जरुरी छ,” उनले जोड दिए।





