पत्रकार महिलाहरुका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

मीरा श्रेष्ठ

महेन्द्रनगर, कञ्चनपुर

सुदूरपश्चिमका पत्रकार महिलाहरुका लागि नेपाल पत्रकार महासंघ सदूरपश्चिम प्रदेश समिति, कैलालीले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशका ९ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरि भेला भएका महिला पत्रकारहरुको संख्या ५० जना रहेको थिए ।

कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार शिव गाउँले थिए ।

 

अन्य प्रशिक्षकहरुमा वरिष्ठ महिला पत्रकार तथा आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष उन्नती चौधरी, सञ्चारिका समुह सुदूरपश्चिम प्रदेश अध्यक्ष चाँदनी आचार्य, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य दुर्गा देवकोटा रहेका थिए ।

प्रशिक्षणमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता, हिंसा र पत्रकारिता, समाचार पुष्टिका लागि आवश्यक स्रोत तथा प्रमाण संकलन लगायत विषयवस्तुको पहिचान र त्यसका अन्तर्वस्तु, सामाजिक सञ्जाल तथा एआई, लैङ्गिक संवेदनशीलता पत्रकारिताबारे विस्तृत रुपमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रम समापनको अन्तिम दिन औपचारिक सभामा प्रमुख अतिथिको रुपमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार भन्दा पुरुषहरु मात्रै हुन्छन् भन्ने मान्यता अहिले बदलेको पाईएको बताए । उनले भने, ‟यहाँ पत्रकार बहिनीहरु मात्रै उपस्थित देखेँ । हुनत अझै पनि कतिपय त छुटेका होलान् । तर, हाम्रो यहाँ महिला पत्रकारहरुको संख्या देख्दा चाँहि यो प्रदेशमा महिला पत्रकारहरुको संख्या विकास हुदैछ र अझ बढ्नेछ भन्ने मलाई लाग्यो । ”

साथै उनले प्रतिवद्धता अनुरुप यसपटक पत्रकार महासंघका लागि बजेट छुट्याउन नसकिएपनि पहिलेदेखि प्रदान गर्दै आएको बजेट नघट्ने बरु केहि अलिकति बढाएर दिईने विश्वास समेत दिलाए । यद्यपि पत्रकार महासंघ प्रदेश समितिले प्राप्त गरेको बजेट भने उद्धेश्य अनुरुप सही उपयोग भएको देख्दा खुशी लागेको उनको भनाइ थियो । ‟म यस मानेमा खुशी छु कि पत्रकार महासंघले यो प्रदेशमा पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि भनेर छुट्याएकोमा भरपुर सदुपयोग भएको मैले महशुश गर्या छु ।”

त्यस्तै सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य हिरा चन्दले नेपाल पितृसतामुलक राष्ट्र् रहदै आएकोमा महिला र त्यसमा पनि पत्रकारिता गर्ने महिलाहरुका लागि चुनौती रहेको बताए । सँगै पहिलेको भन्दा महिला पत्रकारको अनुपात बढ्दै गर्दा पत्रकारिता जगतमा बढ्दै गरेका विकृति विसङ्गतिलाई ध्यान पुर्याउन उनको आग्रह थियो । ‟थोरै अहिले पत्रकारितामा विकृति पनि फैलिएको अवस्था छ । खास गरेर अहिले सञ्चार भन्ने बितिकै तपाईहरुले सही सुचना सम्प्रेषण गर्दिनुपर्ने हुन्छ । यद्यपि हाम्रो नेपालमा जन्मिसकेपछि यो गणतन्त्रात्मक मुलुकमा जहाँ संघीय लोकतान्त्रिक गणतन्त्र छ । हामी कुनै नेता, आस्थासँग हामी जोडिनुपर्ने हुन्छ । तर पत्रकारिता गरेपछि कुनै राजनीतिक विचार आबद्ध हुदैमा राजनीतिक रङ नआउने गरि वास्तवमा स्वच्छ र निष्पक्ष तरिकाले पत्रकारिता गर्दिनुभयो भने यहाँहरुको पत्रकारिता, सोचाई र सञ्चारमाध्यमको बोध राम्रो हुने गर्छ”, उनको भनाई थियो ।

कार्यक्रमको औपचारिक सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश आन्तरिक तथा कानुन मन्त्री हिरा सार्की, सभापति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत बहादुर शाह, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य हिरा चन्द, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हेमन्ती डगौरा तथा सदस्य दुर्गा देवकोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, सञ्चारिका समुह सुदूरपश्चिम प्रदेश अध्यक्ष चाँदनी आचार्य, आदिवासी जनजाती पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष उन्नती चौधरी, पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष सुरेश धामी तथा उपाध्यक्ष धर्मा रोकाया र पत्रकार महासंघ डडेल्धुरा शाखा सचिव नम्रता भट्टको उपस्थिती थियो ।

थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ