असार १५ : आज राष्ट्रिय धान दिवस

कञ्चनपुर, १५ असार । आज असार १५, देशभरका किसानहरू रोपाइँमा व्यस्त भई २२औँ राष्ट्रिय धान दिवस मनाउँदै छन् । नेपाल सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ सालदेखि हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो । यस वर्षको धान दिवसका लागि “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

यो दिनलाई नेपाली समाजमा दही-चिउरा खाएर र हिलोमा रमाएर मनाउने परम्परा पनि छ । मानो रोपेर मुरी उब्जाउने यस महत्वपूर्ण समयमा किसानहरू मानो रोपी मुरी फलाउने आशाका साथ खेतमा उत्रिएका छन् ।

कृषि विभागको पछिल्लो तथ्याङ्कअनुसार, देशभर हालसम्म करिब १५.६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसमध्ये सुदूरपश्चिम प्रदेशले सबैभन्दा तिब्र गतिमा रोपाइँ गरिरहेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको कुल धान खेती हुने क्षेत्रफलको ४५.५ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन देशका अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा बढी हो । कञ्चनपुर, कैलालीलगायतका जिल्लाहरूमा किसानहरू बिहानैदेखि रोपाइँमा व्यस्त छन् ।

नेपाल कृषिप्रधान देश भए पनि चामलमा पूर्ण आत्मनिर्भर हुन सकेको छैन । सरकारले आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने लक्ष्य बजेटमार्फत घोषणा गरेको छ । यसका लागि उन्नत बीउ, मलको सहज उपलब्धता र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

आजको दिन देशभर औपचारिक तथा अनौपचारिक रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी धानको महत्व र उत्पादकत्व वृद्धिका विषयमा छलफल गरिँदैछ । कृषि विज्ञहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न र व्यापार घाटा न्यूनीकरण गर्न धान उत्पादन बढाउनुको विकल्प नरहेको बताएका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ