मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
साउन महिनाको पहिलो सोमबार आज बेलौरीका शिवमन्दिर तथा विभिन्न मठमन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। बेलौरीमा स्थित सिद्धबाबा मन्दिर, रिछाहा मन्दिर, शान्तिपुर शिव मन्दिर, कालेश्वर नक्टाबाबा मन्दिर भकुण्डा लगायत विभिन्न मन्दिरहरू आज भक्तजनको भीडले भरिभराउ रहेको छ।

सिद्धबाबा मन्दिरमा भने आज विशेष भजन तथा किर्तन समेत रहेको छ।

आज साउन सोमबार तथा कामिका एकादशी समेत परेको हुदा हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई विशेष रुपमा मानेका छन्।

आजको एकादशीको दिन व्रत बसे तीर्थ गई गङ्गा स्नान गरेभन्दा धेरै पुण्य मिल्ने तथा दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आज पाइने विश्वास रहेको छ।

त्यस्तै साउन महिनालाई शिव भगवानको महिनाको रुपमा बुझेर विशेषगरी हिन्दू नारीहरू साउन महिनाको सोमबार व्रत बस्ने समेत गर्दछन्।

चित्त शुद्धि, सुस्वास्थ्य लगायतको कामना गर्न तथा विवाहित महिलाहरूले श्रीमानको दीर्घ आयुको कामना गर्दै भगवान शिवलाई पुज्ने गर्दछन् भने अविवाहित युवतीहरूले भगवान शिवको आराधना गर्दै उनी जस्तै वर पाउन् भन्ने कामना गर्छन्।





