पुनर्वास, कञ्चनपुर। श्रावण २१। कञ्चनपुरमा लागूऔषध मुद्दामा पक्राउ परेका पुनर्वास नगरपालिका–६ बस्ने दीपक बिसीलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। ४० दिन लामो हिरासतमा बसेका उनलाई अनुसन्धानपछि कञ्चनपुर जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
यसअघि असार ६ गते पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटल नजिकबाट २ सय ७३ ग्राम खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले दीपक बिसीसहित दार्चुलाको महाकाली नगरपालिका–३ का नरसिंह महरालाई पक्राउ गरेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको थियो।
परिवारका अनुसार, अनुसन्धानको क्रममा दीपक बिसीको उक्त मुद्दामा संलग्नता नभेटिएपछि अदालतले उनलाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो। दिपक बिसी नेकपा माओवादी (केन्द्र) निकट युवा परिषद्को कञ्चनपुर जिल्ला अध्यक्ष हुन्।





