धनगढी, २० कार्तिक। नेपाल इँटा उद्योग महासंघ, सुदूरपश्चिम प्रदेशले सङ्घीय सरकारको ‘पौष मसान्त’ पछि मात्र इँटा पोल्न (फायरिङ) गर्न पाउने निर्णयलाई प्रदेशमा कडा रूपमा कार्यान्वयन गर्न माग गरेको छ। महासंघका प्रदेश अध्यक्ष बलदेव सिंह बुडालद्वारा हस्ताक्षरित एक ध्यानाकर्षण पत्र बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त मुख्य सचिव भरत श्रेष्ठलाई बुझाइएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा गत वर्ष, २०८१ कार्तिक ३० गते बसेको ‘औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड’ को बैठकले प्रदूषण न्यूनीकरण र कामदारको स्वास्थ्यलाई ध्यानमा राखी “प्रत्येक वर्षको पौष मसान्तपछि मात्र इँटा पोल्ने काम सुरु गर्ने” निर्णय गरेको थियो। सोही सङ्घीय निर्णय यो वर्ष (२०८२) को सिजन सुरु हुनुअघि नै पूर्ण पालनाका लागि महासंघले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “उक्त निर्णयहरू सम्बन्धीत सरोकारवाला कार्यालयमार्फत इँटा उद्योगीहरूलाई सचेत गराई उक्त निर्णयको पूर्ण पालनाका लागी माननीय मुख्य मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछौं।”

महासंघले नियम मान्ने इमानदार व्यवसायीलाई मर्का पर्न नदिन र बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन प्रदेश सरकारले कडा अनुगमन गर्नुपर्नेमा जोड दिएको छ। “राज्यले गत वर्ष नै बनाएको नियम सबैले बराबरी पालना गर्नुपर्छ,” अध्यक्ष बुडालले भन्नुभयो, “तर कसैले नियम मिचेर पौष मसान्तअगावै इँटा पोल्ने हो भने नियम मान्ने व्यवसायीलाई अन्याय हुन्छ। त्यसैले यो निर्णयबारे सबैलाई सचेत गराउन र पूर्ण कार्यान्वयन गराउन हामीले मुख्यमन्त्रीज्यू र मन्त्रालयको ध्यानाकर्षण गराएका हौं।”
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री शाह र निमित्त मुख्य सचिव श्रेष्ठले सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने र अनुगमनलाई कडा बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिनुभएको महासंघले जनाएको छ।

प्रतिनिधिमण्डलमा प्रदेश अध्यक्ष सँगै महासंघका केन्द्रीय सचिव कृष्ण तामाङ, प्रदेश वरिष्ठ उपाध्यक्ष मुक्ति सुवेदी, महासचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष नवीन शर्मा, सदस्य दिलीप चन्द तथा सेती महाकाली इँटा व्यवसायी संघका पूर्व अध्यक्ष नवराज पनेरु र महासचिव दीपेन्द्र ऐर लगायतको उपस्थिति रहेको थियो।





