कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित एक सामुदायिक वनमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र बुधबार दिउँसो भएको उक्त घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१० बस्ने ४७ वर्षीय नरेश गिरी र वडा नं. ९ बस्ने ४० वर्षीय हिरा नाथ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फागुन २७ गते दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरूले एक महिलालाई वन जङ्गलभित्र जबरजस्ती करणी गरेको विशेष सूचना प्राप्त भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा ‘सोको’ (SOCO) विशेषज्ञ टोलीसहितको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको सूक्ष्म अवलोकन गरी मुचुल्कासहितका प्रारम्भिक अनुसन्धानका कार्यहरू सम्पन्न गरेको जनाएको छ।

पीडित महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रहरीले तत्काल उद्धार गरी यौनजन्य परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात् पीडितको अवस्थाका बारेमा थप जानकारी प्राप्त हुने र सोही आधारमा मुद्दाको प्रक्रिया अगाडि बढ्ने प्रहरीको भनाइ छ।

हाल पक्राउ परेका दुवै अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी जबरजस्ती करणी सम्बन्धी कसुरमा थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ