बेलौरी, कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा वायुको गुणस्तर सूचकांक (AQI) अस्वाभाविक रूपमा बढेर ५८९ सम्म पुगेपछि नगर कार्यपालिकाको कार्यालयले आज एक जरुरी सूचना जारी गर्दै उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। वायु प्रदूषणको यो अवस्था स्वास्थ्यका लागि “अति खतरनाक” (Hazardous) मानिने र यसले विशेषगरी बालबालिकाहरूको फोक्सो र मुटुमा तत्काल गम्भीर असर पुर्याउन सक्ने देखिएको छ। नगरपालिकाले फागुन २८ गते जारी गरेको सूचनामा सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई सम्बोधन गर्दै प्रदूषणबाट बच्न कडा सुरक्षा उपायहरू अपनाउन निर्देशन दिएको छ।

नगरपालिकाले विद्यार्थीहरूलाई कक्षाकोठा बाहिर खेलिने खेल, पी.टी. वा कुनै पनि किसिमको शारीरिक व्यायाम गराउन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। विद्यालय आउँदा र जाँदा विद्यार्थी तथा कर्मचारीहरूले अनिवार्य रूपमा N95 वा सो सरहको मास्क प्रयोग गर्नुपर्ने बताइएको छ, किनभने साधारण कपडाको मास्कले यस्तो घातक प्रदूषणलाई पूर्ण रूपमा रोक्न सक्दैन। कक्षाकोठामा बाहिरको दूषित हावा छिर्न नदिन सम्भव भएसम्म झ्याल र ढोकाहरू बन्द राख्न र कुनै विद्यार्थीमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, आँखा पोल्ने वा छाती दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्तै प्राथमिक उपचार गरी अभिभावकलाई जानकारी गराउन भनिएको छ। साथै, विद्यालय बिदा भएपछि विद्यार्थीहरूलाई सिधै घर जान र अनावश्यक रूपमा घरबाहिर ननिस्कन समेत सल्लाह दिइएको छ। “स्वच्छ हावा, स्वस्थ जीवन -आजको सावधानी, भोलिको स्वास्थ्य” भन्ने मूल नाराका साथ नगरपालिकाले नगरबासीहरूलाई यो वातावरणीय संकटको समयमा विशेष सावधानी अपनाउन अपिल गरेको छ।





