काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले राजस्व चुहावट नियन्त्रण र सीमा अपराध रोक्न भारतसँग सीमा जोडिएका प्रमुख नाकाहरूमा चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई खटाएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षा, अवैध चोरी निकासी नियन्त्रण, र राजस्व संकलनमा अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित उच्च अधिकारीहरूलाई स्थलगत अनुगमनकै लागि पठाएको हो ।
प्रधान कार्यालयको निर्णयअनुसार, कोशी प्रदेशको झापास्थित काँकडभिट्टा र मोरङको रानी नाकाका लागि एसएसपी दिगविजय सुवेदीलाई खटाइएको छ । त्यसैगरी, मधेश प्रदेशको वीरगञ्ज र धनुषा क्षेत्रको जिम्मेवारी एसएसपी माधवप्रसाद पौडेललाई दिइएको छ । लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको डण्डा, कपिलवस्तुको कृष्णनगर र बाँकेको जमुनाह नाकाको अनुगमनका लागि एसएसपी रविनराज कर्णजीत खटाइएका छन् ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका दुई प्रमुख नाका कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको जिम्मेवारीसहित एसएसपी गंगाराम श्रेष्ठलाई खटाइएको छ । खटाइएका सबै एसएसपीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा पुगेर काम सुरु गरिसकेको सशस्त्र प्रहरी बलले जनाएको छ ।





