कञ्चनपुर, ५ मङ्सिर। जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च अन्तर्गत पाँचौं कञ्चनपुर सम्मेलन आज भव्यताका साथ सम्पन्न भएको छ। बेलौरी नगरपालिकाको आयोजनामा भएको यस सम्मेलनको सभापतित्व नगर प्रमुख पोतीलाल चौधरीले गर्नुभएको थियो भने सुदूरपश्चिम प्रदेश सदस्य दिवान सिंह बिष्ट प्रमुख अतिथि रहनुभएको थियो।


कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख ई. दिनेश भट्ट र गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजाल सहित प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहरा लगायत जिल्लाभरका पालिका प्रमुख, उपप्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस उच्चस्तरीय सहभागिताले सम्मेलनको महत्त्व संघीय तहसम्म पुगेको देखिएको छ।

सम्मेलनले जारी गरेको ‘बेलौरी घोषणापत्र-२०८२’ मार्फत विपद् जोखिम न्यूनीकरणका लागि परम्परागतभन्दा फरक, परिणाममुखी योजनाहरू अघि सारेको छ। घोषणापत्रमा सबैभन्दा महत्त्वपूर्ण रूपमा सम्भावित क्षतिहरूका लागि बिमा (Insurance) सहितको विपद् जोखिम हस्तान्तरण का उपायहरूलाई प्राथमिकता दिने तथा उच्च लागतको पूर्वाधारभन्दा प्रकृतिमा आधारित समाधान (Nature Based Solution) को उपयोग गर्ने बुँदा समावेश गरिएको छ। साथै, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि योजना, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी स्थानीय समितिको क्षमता विकास, र हरेक ६/६ महिनामा समीक्षा बैठक बस्ने प्रतिबद्धता जनाइएको छ।

सम्मेलनमा सहभागी भएका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल ले विपद् व्यवस्थापनमा जिल्लाका पालिका सरकारहरू सक्षम भएकाले सक्रियता बढाउनुपर्नेमा जोड दिनुभएको थियो भने जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गादत्त बोहरा ले राहत तथा उद्धारका कार्यक्रम गर्नुअघि नै पूर्व सूचना प्रणाली लाई प्रभावकारी बनाएर सुरक्षाका कार्यक्रममा जोड दिनुभयो। बेलौरी नगरका प्रमुख पोतीलाल चौधरीले घोषणापत्रमा उल्लेखित बुँदाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो।

आगामी छैटौँ जिल्ला सम्मेलनको आयोजकत्व बेदकोट नगरपालिकाले गर्ने घोषणासँगै कार्यक्रमको समापन भएको थियो।





